प्राकृतिक विपत्ति पछि मनोसामाजिक समस्या

- गोपाल ढकाल

बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति पछि यसबाट प्रभावित व्यक्तिहरुमा विभिन्न किसिमका मनोसामाजिक समस्या र यसका लक्षणहरु देखिन सक्छन् । जस्तै हातखुट्टा, जिउ काप्नु÷कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, शरिरमा अत्याधिक थकान लाग्नु, श्वास फेर्न गाह्रो हुनु, छाती भारी हुनु, धेरै रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै विर्सनु, मन दुःखीहुनु, सामान्यभन्दा बढी डर÷चिन्ता÷पिर पर्नु, छटपटि हुनु निर्णय लिन नसक्नु, डरलाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, कसैले केही गर्छ कि भन्ने डर लाग्नु, आदि जस्ता लक्षणहरु बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति पछि मानिसहरुमा देखिने सामान्य र स्वभाविक लक्षणहरु हुन । यि लक्षणहरु घटनाको तुरुन्तै पछि देखिन्छन् भने कतिपयलाई केहि दिन पछि मात्र देखिन शुरु हुन्छ । कोहीकोहीलाई भने केही महिना वा वर्षपछि अचानक लक्षणहरु देखा पर्न सक्छन् ।

मनका वह पोख्न पाउँदा, घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदानप्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सुचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोलि रुन पाउँदा, सकरात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोडदा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले यि लक्षणहरु समयबित्दै जादा हराउदै जान्छन् । माथिका लक्षणहरु क्मन भएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाई भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरुले नसुन्ने आवाज सुनेमा, अत्याधिक लागू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, केटाकेटीको स्वभावमा परिवर्तन आएमा, विभत्स घटनाको यादले झस्काइरहेमा जस्ता अवस्थामा मनोचिकित्सक, मनोविद् तथामनो सामाजिक विमर्शकर्ताको सहयोग लिनु पर्छ ।

परिवारका सदस्यहरु गुमाउनु पर्दा, आफुलाई नै बाढीपहिरोबाट चोटपटक लाग्दा, आफ्नो घर बगाउँदा, बारी खेत वालुवामा परिणत हुदाँ, मनमा दुःख, पिडा तथा भावनात्मक चोट पुग्छ नै साथै यसलाई सहन कतिपयअवस्थामा कठिन समेत हुनसक्छ ।

प्रत्येक व्यक्तिको मानसिक क्षमता फरक फरक हुने हुँदा यसले पार्ने असर पनि फरक फरक हुन्छ । साथै व्यक्ति पिच्छे कोहि चाडै सामान्य अवस्थामा फर्कन्छन भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्न सक्छ । धेरै मानिसहरु ठिलो चाडो सामान्य अवस्थामा फर्किन सक्ने भएता पनि केही प्रतिशत व्यक्तिहरुमा यि लक्षणहरु हराउदैनन् । यसबाट पिडित व्यक्तिलाई निम्न मानसिक स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन् ।
– लगातार आत्तिने रोग
– दिक्दारिपन तथा आत्महत्याको सोचाई
– पिडादायिक घटनापछि उत्पन्नहुने एक विशेष मानसिक समस्या
– एक्कासि विनाकारण हुने अत्याधिक त्रास
– समायोजनको समस्या
– तत्कालै देखा पर्ने तनावजन्य समस्या

प्राकृतिक प्रकोपपछि पिडित वा प्रभावितव्यक्तिहरुको मनोबल धेरै कम भएको हुन्छ । त्यसैले औषधीउपचार, आधारभूत आवश्यकता परिपूर्तिका साथै प्राथमिक मनोवैज्ञानिक सहयोग एवम् मनोसामाजिक सेवापनि जरुरत पर्दछ । यसले छोटो समयमानै स्वास्थ भई आफ्नो काममा फर्कन मद्दत पुग्छ । प्रभावितमध्ये कसलाई मानसिक स्वास्थ्य समस्या देखा पर्छ वा कसलाई पर्दैन भनेर थाहा नहुने हुँदा मनोसामाजिक समस्या भएका सबैले मनोसामाजिक सेवा लिनु राम्रो हुन्छ । यसो गर्दा लक्षणहरु छिट्टै हराउने र मानसिक स्वास्थ्य समस्याको रुप लिन पाउँदैन । घाइते भएका, परिवारका सदस्य गुमाएका व्यक्तिहरु, बालबालिका, गर्भवती एवम् सुत्केरी महिला, अपाङ्ग, बृद्धबृद्धा, रोगी र अशक्त आदिमा असर बढी पर्ने भएकोले उनीहरुलाई सामान्य जीवनमा फर्काउन मनोसामाजिक सेवा अरु सामान्य व्यक्तिको तुलनामाझनै बढी आवश्यक पर्छ ।

लेखकःमार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्षहुन ।

Loading...