सेल्फी विवादमा बाँदरको विपक्षमा अायो फैसला

सिड्नी । लामो कानुनी लडाइँपछि बाँदरको सेल्फी फोटोको स्वामित्वको विवाद समाधान भएको छ । सन् २०११ मा इन्डोनेसियाको जंगलमा लिइएको बाँदरको सेल्फी फोटोको स्वामित्व अन्ततः फोटोग्राफर डेभिड स्लेटरलाई नै दिइने भएको छ ।
क्यामेरामा दाँत देखाउँदै चम्किलो आँखा देखाएको बाँदरको सेल्फीको स्वामित्वको विषयलाई लिएर लामो विवाद चलेको थियोे । फोटोग्राफरले पशु अधिकार समूहसँग चलेको दुई वर्षभन्दा लामो समयको कानुनी लडाइँ जितेका हुन् ।

यो तस्बिर सन् २०११ मा इन्डोनेसियाको जंगल माकक प्रजातिको नारुतो नामक बाँदरले लिएको थियो । बाँदरले न्यु साउथ वेल्सका डेभिड स्लेटरको क्यामरामा यो सेल्फी लिएको हो ।

अमेरिकी न्यायाधीशले बाँदरलाई कपिराइट कानुनअनुसार अधिकार दिन नमिल्ने भन्दै मुद्दा खारेज गरिदिएका हुन् । पशु अधिकार समूह (पेटा) ले सेल्फी तस्बिरबाट जनावरलाई समेत फाइदा हुनुपर्ने तर्क गरेको थियो । बाँदरको तर्फबाट भन्दै पेटाले दायर गरेको रिट खारेज भएपछि फोटोग्राफर डेभिडले यसको स्वामित्व पाएका हुन् । मुद्दाको फैसला आफ्नो पक्षमा भएपछि स्लेटरले यो तस्बिरबाट भविष्यमा हुने कमाइको २५ प्रतिशत दान गर्ने घोषणा गरेका छन् ।

स्लेटर र पेटाद्वारा जारी संयुक्त वक्तव्यमा तस्बिरको बिक्रीबाट हुने एक चौथाइ कमाइ नारुटो र त्यस स्थानमा रहेका च्यारिटी संस्थाहरूलाई दान दिने उल्लेख छ । पेटाका वकिल जेफ करले यो मुद्दाका कारण संसारभर पशु अधिकारका विषयलाई लिएर चर्चा भएको बताएका छन् । स्लेटरले भने यो तस्बिरका लागि आफूले धेरै मिहिनेत गरेको र तस्बिरमाथिको प्रतिलिपि अधिकारको दाबीका लागि पर्याप्त रहेको जनाएका छन् ।

स्लेटरले आफू स्वयं पनि संरक्षणवादी भएको बताउँदै तस्बिरमा पैदा भएको रुचिका कारण इन्डोनेसियाका जनावरलाई समेत फाइदा पुगेको बताएका छन् । यो मुद्दालाई ‘नारुटो भर्सेज स्लेटर’ नाम दिइएको थियो । बाँदरको पहिचानलाई लिएर पनि विवाद थियो ।

पेटाले यो तस्बिरमा देखिएको बाँदर पोथी भएको र यसको नाम नारुटो भएको बताएको छ भने स्लेटरले यसलाई माकक प्रजातिको ‘नर बाँदर’ भएको बताएका थिए । विश्वमै चर्चित भएको यो तस्बिरबाट उनले हालसम्म कुनै आम्दानी हासिल गरेका छैनन् । स्वामित्व सम्बन्धि विवादका कारण उनले कुनै रकम नपाएका हुन् । रकम पाउनुको साटो उनले कानुनी लडाईका कारण ठूलो धनराशी खर्च गर्नुपरेको थियो ।

Loading...