बालकुमारी विद्यालयलाई कम्प्यूटर

चितवन । लायन्स क्लबले नारायणगढमा रहेको बालकुमारी कन्या माध्यमिक विद्यालयलाई कम्प्युटर साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरेको हो ।

त्यसैगरि विद्यालयमा अध्ययन गर्ने १० जना विद्यार्थीहरुलाई समेत छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ६ जना छात्रा र ४ जना छात्रलाई विद्यालयमा तिर्नुपर्ने एक वर्षको शुल्क बराबरको रकम छात्रवृत्ति स्वरुप प्रदान गरिएको हो । क्लबका अध्यक्ष बालगोपाल चुकेका अनुसार लायन्सहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रम गर्दै आएकोमा विद्यालयलाई कम्प्युटर तथा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

आगामी दिनमा समेत विद्यालयलाई सहयोग गर्ने चुकेको भनाइ थियो । यसैबीच, विद्यार्थीहरुले दसैँ विशेष कार्यक्रम अन्तर्गत चेतनामूलक नाटक समेत प्रदर्शन गरेका छन् । दसैँको महत्व र यसमा हुसक्ने विकृतिलाई नाटकमा समेटिएको विद्यालयका प्रधानाध्यापक हेलम्ब कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Loading...