अमरापुरी महोत्सवमा सफलता उन्मुख

गैँडाकोट, ११ असोज । “युवाहरुको आह्वान आगन्तुक पर्यटकलाई सम्मान” भन्ने मुल नाराका साथ गैंडाकोट अमरापुरीमा असोज ३ गतेबाट जारी ऐतिहासिक अमरापुरी महोत्सवमा अवलोकन कर्ताको संख्या दिन प्रतिदिन बढीरहेको छ ।

हिजोको दिनसम्म मात्रै ५० हजार भन्दा बढीले अवलोकन गरेको आयोजक रेन्वो युथ क्लबका सचिव हरि रेग्मीले जानकारी दिनुभयो । दर्शकको संख्या हिजोदेखि बढ्दै गएको छ, आज र भोली अवलोकन गर्नेको संख्या दोब्बर हुने आयोजक संस्थाको अनुमान रहेको छ ।

महोत्सव सफलता पूर्वक अघि बढीरहेको समेत आयोजक संस्थाले बताएको छ । अमपरापुरी महोत्सवमा आज शैक्षिक विशेष कार्यक्रम हुँदै छ । आजको कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल प्रमुख अतिथिको रुपमा रहनुहुने समेत रेग्मीले बताउनुभयो । उहाँका साथसाथमा नवलपरासी र लम्जुङका जिल्ला शिक्षा अधिकारीहरुको उपस्थिति रहने छ ।

आज बक्तृत्वकला प्रतियोगीताको अन्तिम चार प्रतिष्पर्धिबीच प्रतिष्पर्धा हुने छ । आजै कविता प्रतियोगिता र गजल प्रतियोगिता हुने छ । सम्पूर्ण प्रतियोगिताका कार्यक्रमहरु ११ बजेबाट सुरु हुने समेत सचिव रेग्मीले बताउनुभयो । यसैगरी अमरापुरी डान्स आइडलको टप सेभेनको पनि आज प्रस्तुती रहने छ । आजै इलिमिनेसन डे समेत भएको रेग्मीले बताउनुभयो ।

Loading...