परदेशीलाई के को दसैँः बाको मुहारमा दसैँ देख्ने रहर छ

- विधुर ढकाल

‘फेसवुकको म्यासेन्जरमा आउने दसैँको शुभकामनाले बोरिङ गराउन थाल्यो यार विधुर,’ लामो समय पछि फेसवुक च्याटमा देखिएको विनोदलाई दसैँको तयारी कस्तो छ भनेर सोध्न नपाउँदै उसले सुनायो । दसैँ विशेषांकका लागि परदेशीको दसैँ बारेमा लेख्ने सोचमा साथीहरुसँग सोधिरहेका थिए म । हुन त महिना दिन अगाडि देखि आएका शन्देसले मलाई पनि दिक्क बनाइसकेका थिए ।
दुई वर्ष अगाडि कोरिया पुगेका सानै देखिको साथी विनोद दिनभर कामको थकानबाट फर्किएको उ साँझ अलिकटी थाकान मेट्दै थियो । ‘हामी प्रदेशीको लागि के दसैँ यार दिनभर जोतिनुपर्छ, काममा साँझ आयो पल्टियो, हाम्रो लागि पो दसैँ त यी भोटेका लागि के दसैँ, जतिखेर पनि काम चाहिन्छ यीनिहरुलाई’, उसले भन्दै थियो, ‘तै पनि शनिबार १० जना जति साथी मिलेर सानो भेटघाट राखेका छौँ, यहाँको ६ लाख ५० हजार (नेपाली करिब ६५ हजार रुपैयाँ) को खसी किनेर राखेका छौँ दिनभर खसी काट्ने रमाइलो गर्ने बस्ने ।’
दसैँका लागि भनेर अधिकांश नेपालीहरु घर फर्केका छन् । तर परदेशमा छुट्टि नपाउनेको पीडा हो यो । विनोद मात्र होइन् उ जस्ता लाखौँ नेपालीहरु विदेशी भूमिमा पुराना दसैँलाई कल्पनामा राखेर काममा खटिइरहेका छन् । तर पनि दसैँमा नेपालीहरु मिलेर सानो तिनो जमघट भने राख्दै आएका छन् ।
कोरियामै रहेका रुपन्देहीका दीपेन पौडेल पनि दसैँमा साथीभाईसँग रमाइलो गर्दै छन् । ‘धन्न यसपाली शनिबार परेको छ, विदाको दिन छ, साथीभाईहरु जम्मा भएर रमाइलो गर्ने कार्यक्रम बन्दै छ’, उनले भने, ‘रुपन्देहीबाट यहाँ आएका साथीहरुको भेटघाट कार्यक्रम छ, एकापसमा टिका लगाउने खाने रमाइलो गर्ने ।’
तर पनि गाँउघरको दसैँ जस्तो भने हुँदैन । ती पुराना दसैँलाई सम्झँदै दसैँ मनाउने हो ।
कतारमा रहेकी आशा थापा पनि पुरानो दसैँलाई सम्झेर मनाउँदै छिन् । ‘के दसैँ के तिहार, उस्तै हो, घरको याद आँउछ, घरमा फोनमा कुरा गर्छु अनी काममा जान्छु’, उनले भनिन्, ‘सानोमा छँदाको दसैँको साह्रै याद आउँछ, हजुरआमाको हातबाट टिका थापेको याद आउँछ, अहिले हजुरआमा वित्नु भयो तर पनि अझै पनि सानै हुन मन लाग्छ, हजुरआमाको हातको टिका लगाउन पाए हुन्थ्यो भन्ने लाग्छ ।’
कपिलवस्तु बाणगंगाका हरि अधिकारीले पाँच वर्ष भयो, आमा बुवाको हातबाट टिका नलगाएको । यसपालि पनि उनलाई त्यो अवसर जुरेन् । ‘दसैँ कस्तो हुन्छ भन्ने पनि भुल्न थालिसकेँ,’उनले भने, ‘गरिबको छोरो घरमा बसेर पुग्दो रैनछ, अर्काको देश आउनै परो, अर्काको देशमा आएपछि उनीहरुको देश अनुसार भेष गर्ने पर्यो, दसैँ मनाउछु भनेर मात्र नपाइने ।’
सानो छँदा दसैँ आँउदा राम्रो लुगा आउने भयो, घरमा मासु आउने भयो भनेर खुसी भइन्थ्यो, त्यस्तो रमाइलो हराएको उनले बताए । ‘याद आँउछ, सानो हुँदा खुसी भएको, बाबा आमालाई जति पीडा भए पनि राम्रो लुगा चाहियो भनेर रोइदिए पुग्थ्यो,’ उनले भने, ‘लाग्थ्यो दसैँ आयो सबै खुसी छन्, तर बाको मुहारमा चमक हुन्थेन, सबै खुसी हुँदा बा किन दुःखी भन्ने मनमनै प्रश्न आउँथ्यो, तर सोध्ने आँट थिएन् ।’
गरिबो झुपडीमा दसैँले ल्याउने पीडा बाको मुहारमा झल्किएको हो भन्ने बुझ्न थालेपछि मुग्लानिएको उनले बताए । ‘त्यतिवेला थाहा थिएन् बा किन दुःखी भएका भनेर, थाहा पाए पनि कमाउन आएँ,’ उनले भने, ‘ हिजो मेरो मुहारमा झल्किने गरेको खुसी बाको मुहारमा देख्ने छ, बाको चम्किलो मुहारमा दसैँ देख्ने रहर छ ।’
तर पनि उनलाई यसपालि पनि त्यो चमक देख्ने भाग्य जुरेन् । घरबाट फोन गरेर बोलाउँछन् साउले विदा नदिने पीडा अधिकांश विदेशिएका नेपालीको हो । ‘दसैँका लागि भनेर केही साथीहरु घर गइसके, केही जाँदैछन्,’ अधिकारीले भने, ‘साथीहरुलाई विदाइ गर्दा पनि आधा आफूनै घर जान लागे जस्तो हुन्छ, कमसेकम म जान नपाए पनि उ त गयो नी, कमसेकम उसका बाआमाका मुहारमा दसैँ त देखिने भयो नी भन्ने लाग्छ ।’
जापानमा रहेका खगेन्द्र ढकाल यतिवेला घरमा रहेको सानो छोरोलाई सम्झिरहेका छन् । चार वर्षको सानो छोरोलाई घरमा आमाबाको साथमा छाडेर श्रीमान श्रीमती नै जापान पुगेका उनीहरुले छोरोको यादले सताउँदै छ ।
‘आफु सानो छँदाको दसैँ सम्झिन्छु छोरोलाई पनि रहर थियो होला, बाको हात समातेर मामाघर जाने,’ उनले भने, ‘हामी यहाँ छौँ, लाग्छ, हामीले उसको दसैँ पनि खल्लो बनाइदियौँ ।’
वर्ष दिनको ठूलो चाड दसैँमा घर जान नपाउने पीडा त छँदै छ परदेशिएका नेपालीको तर पनि जहाँ छन् त्यही दसैँ भने मनाउने तयारीमा छन् उनीहरु । भूगोलले टाढा बनाए पनि आफ्नो संस्कृतिलाई भने भुलेका छैनन् । दसैँलाई भुलेका छैनन् । मनाउने तरिका फरक भए होलान्, घटस्थापनामा जमरा राखेनन् होला । तर पनि दसैँ उनीहरुलाई पनि आएको छ । पुराना यादसँगै नयाँ दसैँ मनाउन भने छाडेका छैनन् उनीहरु पनि ।

 

Loading...