नयाँ राजनीतिक समिकरण र क्रान्तिकारी ध्रुबीकरणको अावश्यकतासँगै चुनौती

- डा. ऋषिराज बराल

वर्तमानको यथास्थितिवादी संविधानलाई उच्च कोटीको संविधान भन्दै यसको प्रयोग र रक्षा गर्ने उद्देश्यका साथ संसदीय व्यवस्थाप्रति प्रतिबद्ध भएर अभ्यास गरिरहेका केही वाम नामधारी पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिले यही असोज १७ गते ६ बुँदे सहमतिमार्फत मङ्सिरमा हुने प्रदेश तथा केन्द्रको चुनावमा तालमेलका साथ सहभागी हुने र त्यसपछि पार्टीएकतामा जाने निर्णय गरेका छन् । र यस किसिमको निर्णयले राजनीतिक वृत्तमा एक किसिमको हल्लीखल्ली नै मच्च्चाएको छ ।

यो निर्णयबाहिर आउनुअघि नै विभिन्न माध्यममार्फत एमाले र माकेबीच पार्टी एकता नै हुने तत्काल यसो नभएमा चुनावी तालमेल हुने कुरा प्रकाशमा आएका थिए । वर्षमान पुनले रोल्पाबाट यसको उदेघोष गरिसकेका थिए । अहिले आएर अब नेपालमा मार्क्सवादको काम छैन भनेर बटुलबाटुल अभियानमा लागेका बाबुराम भट्टराई पनि यसमा मिसिएका छन् ।

यस किसिमको गठबन्धनलाई लिएर विभिन्न व्यक्तिहरू, ‘राजनीतिक विश्लेषकहरू’ र पार्टी कार्यकर्ताहरूले आआफनो बुझाइ, सोचाइ र ठम्याइअनुसार प्रतिक्रिया व्यक्त गरेका छन् । अभिव्यक्तिमा रक्तसञ्चारको गतिबोध राम्रोसँग गर्न सकिन्छ । यतिखेर सञ्चारमाध्यमहरू, सामाजिक सञ्जाल र सार्वजनिक स्थलहरूमा समेत यसै विषयसम्बद्ध टिप्पणीले विशेष ठाउँ पाएको छ । हिजोसम्म एकअर्कालाई दुस्मनको जस्तो व्यवहार गर्ने एमाले र माकेबीच यो सम्बन्ध कसरी बन्यो ? भर्खरै भरतपुर निर्वाचनको घाउ चहर्याइरहेको समयमा कसरी यस किसिमको स्थिति बन्यो ? कसरी बाबुराम-प्रचण्ड र वली एकै ठाउँ, एउटै छातामुनि आउन सके ? भन्ने प्रश्न र जिज्ञासा चौतर्फी रूपमा उठेको छ । यो काम सम्बद्ध पार्टीहरूको आफ्नै विवेक, चेतना र आवश्यकताले भयो अथवा यसमा पनि कुनै विदेशी शक्ति मिसियो भन्ने कुरा पनि अहिले निकै चासो र टिप्पणीको विषय बनेको छ ।

गठबन्धनको रहस्य :

यो गठबन्धनलाई धेरैजसोले चीनको भूमिकासित लगेर जोडेका छन् र यसैअनुरुप समाचार र सञ्जालहरू रङ्गाएका छन् । यो सन्दर्भले ओली पछिल्लोपल्ट चीन जाँदा मूर्त रूप लिएको भनिन्छ । चीनले अलिकति पनि मन नपराउने बाबुराम समेतको सहभागिताले कतिपयले यसलाई युरोपियन युनियनको भूमिकासित जोड्न खोजेका छन् । कतिपयले यसलाई बेबी किङ र हिन्दूराज्यसित जोडेर दुबैको सल्लाहमा भएको पनि भनेका छन् । प्रचण्डप्रति चीनको विश्वास नभएकाले यो मूलतः एमाले र ओलीलाई बलियो बनाउन चीनले खेलेको भूमिका हो भन्नेहरू पनि छन् । बाह्य शक्तिको कुरा नजान्नेले चाहिँ प्रचण्ड र माधव नेपालले कतैबाट पनि चुनाव नजित्ने र समानुपातिकमा जानुपर्ने स्थिति आएपछि प्रचण्ड-माधव नेपालको पहलमा यो काम भएको हुनुपर्छ भनेर अडकल काटेका छन् । आन्तरिक समस्या र स्वार्थअनुसार प्रचण्ड- वलीले पार्टी एकताको निर्णय गरे अथवा कुनै बाह्य शक्ति यसको पछाडि रहेको छ, यो कुरा समयसँगै खुलेर जाला नै । दुस्मनको तहमा रहेका शक्तिहरू सबै कुरा बिर्सेर रातारात एकताबद्ध हुने कुराका पछाडि सामान्य बुझाइ र तारतम्य चाहिँ पक्कै छैन । आगामी चुनावसम्म यो गठबन्धन यथावत रहने कुरामा विवाद छैन र त्यसपछिको स्थिति चाहिँ त्यति सहज होला भन्न सकिन्न ।

कार्यकर्ताको मानसिकता :

यो निर्णयले विसर्जनको स्थितिमा पुगेको बाबुरामको ‘नयाँ शक्ति’ सबैभन्दा सुविधा र सहजतामा रहेको देखिन्छ र उनका कार्यकर्ताले खासै प्रतिक्रिया व्यक्त गरेको पाइँदैन । माके र एमालेका तलका अधिकांश कार्यकर्ताहरूमा चाहिँ हर्ष र खुसीको खासै चहक देखिएको छैन । एकाधहरूले “अब लङ्का जितिने भयो”भनेर हर्षबढाइ गरेको पाइए पनि अधिकांशहरूको अनुहारमा बादल लागेको देखिन्छ, खास गरेर माकेका कार्यकर्ताहरूमा । माकेका एकथरी कार्यकर्ताहरूका अभिव्यक्ति पढ्दा उनीहरू पार्टीएकताप्रति निकै आक्रोसित र चिन्तित देखिन्छन् । परन्तु, यो पनि विचारको तहबाट भन्दा भावना र भावुकताको तहबाट आएको देखिन्छ । यहाँ वैचारिक पक्षभन्दा मनोवैज्ञानिक पक्ष बढी हाबी भएको छ । हिजो विचार, सङ्गठन, जनसत्ता र जनसेना सबै प्रतिक्रियावादीहरूलाई सुम्पदा केही नबोल्ने र ठीक भयो भन्दै सबै सुखसुविधा भोग गर्नेहरूको अहिलेको गठबन्धनप्रतिको अशन्तुष्टी वैचारिक नभएर माओवादी कै नाममा निरन्तर हसुरिरहन पाए हुन्थ्यो भन्ने कामनाको उपज मात्र हो । माओवादी मूल्यमान्यतालाई रछ्यानमा फालेका तत्वहरूले यो गठबन्धनको विरोध गर्नु भनेको भोलिका दिनमा आफ्नो भूमिकालाई लिएर गरेको खाओवादी चिन्ता मात्र हो । प्रदेश सभा र मुख्यमन्त्रीको सिटको सुरक्षाको चिन्ता मात्र हो । झन् बिहान एउटा कुरा, दिउँसो एउटा कुरा र बेलुका एउटा कुरा गर्ने गोपाल किराँतीजस्तो हावादारी मान्छेले विरोध गर्नुको कुनै तुक छैन । केही समय उनीहरू भावनात्मक धङ्धङीको मनोवैज्ञानिक समस्यामा रहे पनि विगतका झैँ अलि पछि सबै कुरा सही, वस्तुगत, पार्टीले सही निर्णय गर्यो भनेर फोहोर नालीको पानीलाई ‘गङ्गाजल’ भनेर नुहाउनेछन् । माकेभित्रका कसैसित अझै पनि अलिअलि तातो र रातो छ भने विकल्पहरू खुला छन् ।

क्रान्तिकारिहरूका लागि अवसर पनि चुनौती पनि :

हुन त कतिपयले वाम नामधारी नवप्रतिक्रियावादी पार्टीहरूबीच असोज १७ गते भएको सहमतिलाई “ कालो दिन” भनेर लेखेका छन् । यो पनि विचारको तहबाट आएको भनाइ नभएर भावना र भावुकताको उपज हो । एकहिसाबले मनोवैज्ञानिक पीडाको उपज हो । माके जुनबाटो हिँडेको थियो, ऊ पुग्ने ठाउँ र गाउँ यही थियो । विचारका दृष्टिले माके-एमाले एकै ठाउँमा थिए । दुवै यसै संविधानअन्तर्गत संसदीय राजनीतिको अभ्यासमा थिए । उनीहरूबीच कुराकानी मिल्यो, एकै घरमा बस्ने निधो गरे । वैचारिक हिसाबले हेर्दा यो अनौठो र अचम्म लाग्दो कुरा भएन । यसमा पनि माकेको पछिल्लो राजनीतिको विरासत बोकेकाहरू, संसदीय राजनीतिमा कुदिसकेकाहरूले यसको विरोध गर्नु अथवा मन दुखाउनुको कुनै अर्थ छैन ।

जनयुद्ध कालमा एमालेले अरू प्रतिक्रियावादी शक्तिसित मिलेर जनयुद्ध दबाउन सहयोग पुर्याएकै हो । कालो कानुन वामदेवले ल्याएकै हो । सङ्कटकालमा सही थापेकै हो । त्यतिबेर हामीले उसलाई नवप्रतिक्रियावादी भनेकै हो, लेखेकै हो । महाकाली सन्धीमा उसले राष्ट्रघात गरेकै हो । यताका दिनमा नाकाबन्दी लगायतका भारतीय विस्तारवादका विरुद्धमा उसले लिएका कतिपय अडान सही थिए/छन् भनेर सराहना गरे पनि रणनीतिक दृष्टिले एमालेका बारेमा हामी प्रस्ट थियौँ र छौं । माओवादको समग्र इतिहास, सहिदको रगत, मूल्य र मान्यताप्रति गद्दारी गरेर र भारतीय विस्तारवादका सामु लम्पसार परेका प्रचण्ड, संसदीय व्यवस्थालाई बलियो बनाउन अभ्यासमा लागेका हुनाले प्रचण्ड र उनको पार्टीलाई यस टिप्पणीकारले तिन-चार वर्ष अघिदेखि नव-प्रतिक्रियावादी भनेर नेपाली र अंग्रेजीमा लेखेकै हो, भनेकै हो । प्रचण्ड र एमालेहरू मात्रात्मक रूपमा केही तलमाथि भए पनि यी दुवै समान मूल्य-मान्यता, स्वार्थ र उद्देश्यमा भएकाले यिनीहरूबीचको एकता सही र समयानुकुलको एकता हो । यी दुवै संसदवादी राजनीतिका पक्षधर भएकाले सारतः दुवैले प्रतिक्रियावादी कित्ताको प्रतिनिधित्व गर्छन् । समान विचार राख्नेहरू एक ठाउँमा आउनुलाई स्वाभाविक मान्नुपर्छ र विचारको तहबाट सोच्नेहरूले यसमा आश्चर्य मान्ने कुरा छैन ।

माओवादी आन्दोलनप्रति गद्दारी गरेको र माओवादी मूल्यमान्यताबाट धेरै पर पुगेका प्रचण्डहरूले आफ्नो नाममा माओवादी जोड्नु, आफूलाई मालेमावादी भन्नु एक हिसाबले माओ र माओवादकै बदनाम हुनुको विषय भएको थियो । प्रचण्डले गर्दा माओवादी आन्दोलन बदनाम भयो, माओवादी पदावली नै बदनाम भयो । माओवाद र माओवादी पदावलीलाई नै कलङ्कित पारेकाले प्रचण्डले यो नाम छोड्नुपर्छ भनेर हामीले भन्दै र लेख्दै आएका थियोँ । तर यस नामको दुरूपयोग गरी उनले आफूलाई सही माओवादी बताउँदै जनतालाई भ्रम दिएर माओवादको थप वदनाम गर्दैआएका थिए । एमालेसित एकता भएपछि अब भ्रम दिने र कलङ्कित पार्ने बाटो हट्नेछ । उनले यसलाई लिएर थप बदनाम गर्न पाउने छैनन् । यस अर्थमा क्रान्तिकारीहरूले यो एकता निर्णयप्रति खुसी मान्नुपर्छ र छिटो एकता होस् भनेर कामना गर्नुपर्छ । एमालेले लिएको संसदीय बाटो प्रस्ट थियो । बाबुरामले इमानदारीपूर्वक मार्क्सवाद छोडेको घोषणा गरे । प्रचण्डले भ्रम दिइरहेका थिए। अब क्रान्तिकारी शक्तिहरू प्रस्ट भएका छन् । दुनियाँ प्रस्ट भएको छ ।

अब नेपालमा परम्परागत रूपमा विद्यमान नेपाली जनताले लड्दैआएको प्रतिक्रियावादी शक्ति सामन्त तथा दलाल पुँजीपति वर्गसित वाम खोलधारी नवप्रतिक्रयावादी शक्ति पनि मिसिएको छ । २१ औँ शताब्दीको संशोधनवाद परम्परागत प्रतिक्रियावादभन्दा खतरनाक हुने निष्कर्ष माओवादीहरूको रहेको छ । यस सन्दर्भमा वामपन्थी गठबन्धनमा रूपमा आएको नवप्रतिक्रियावाद थप आक्रामक र प्रतिक्रियाशील हुने कुरा निश्चित छ । वास्तवमा परम्परागत प्रतिक्रान्तिकारी शक्तिभन्दा भन्दा यो नवप्रतिक्रियावादी शक्ति खतरा हुनसक्छ, जनतालाई भ्रमित पार्न योसित केही ठाउँ बाँकिरहेको हुन्छ । प्रतिक्रियावादीहरूका लागि अबको असली प्रतिपक्ष, मूल दुस्मन क्रान्तिकारीहरू नै हुनेछन्; क्रान्तिकारी शक्तिको अवशानमा नै यसले आफनो भविष्य सुरक्षित देख्ने छ । नयाँ-पुराना साम्राज्यवादी शक्तिहरू नेपालमा माओवादी शक्ति र सङ्गठनहरूको मात्र अवसान चाहदैनन्, माओवादी नाम पनि मेटाउन चाहन्छन् भन्ने सत्य चीनको सन्दर्भमा पनि लागू हुन्छ ।

गठबन्धनकारी यो शक्तिले साम,दाम, दण्ड, भेद हरेक किसिमले मुलुकको क्रान्तिकारी शक्तिमाथि प्रहार गर्नेछ र यसलाई समाप्त पारेर आफूहरू नै सही क्रान्तिकारी र देशभक्त शक्ति भएको भनेर जनतामा भ्रम दिनेछ । लोभीपापीहरू, सुविधाप्रति आसक्त हुनेहरू धेरथोर सबैतिर छन् । लामो समयसम्म सँगै काम गरेका कारण क्रान्तिकारी तप्काभित्रका कमीकमजोरीबारे पनि माकेजनहरूलाई धेरथोर जानकारी छ । यसले पलायनताको बाटोका लागि क्रान्तिकारी कित्ताभित्र चलखेल गर्ने छ र केही नलागे दमनको बाटो अवलम्बन गर्नेछ । यस अर्थमा क्रान्तिकारी शक्तिहरू थप चनाखो, सजग र एकताबद्ध हुनु आवश्यक छ । एस अर्थमा क्रान्तिकारीहरूका लागि यो सन्दर्भ चुनौती पनि हो र अवसर पनि ।

के भन्छन् अन्य वाम पार्टीहरू :

कसैले सोधेको सन्दर्भमा अथवा फेसबुकको सन्दर्भ जोडेर खास नेताहरूको व्यक्तिगत प्रतिक्रिया आए पनि आधिकारिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेकपा-विप्लवका तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया प्रकाशमा आएको पढ्न र सुन्न पाइएको छैन । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को असोज २१ देखि हुनलागेको सम्मेलनले यस विषयमा ठोस निर्णय गर्ला भनेर आशा गर्न सकिन्छ । सम्मेलनको लागि तयार पारिएको दस्ताबेजमा चाहिं माकेलाई ‘प्रतिध्रुवीय शक्तिहरू’ अन्तर्गत राखेर यसरी प्रस्ट पारिएको छ :

“नेपालमा तिनलाई पुनरुत्थानवादी, प्रतिक्रियावादी तथा यथास्थितिवादी शक्तिहरूका रूपमा बुझ्नुपर्दछ । त्यसप्रकारका शक्तिअन्तर्गत मुख्यतः राप्रपा, नेका, एमाले, नयाँ शक्ति र माके पर्दछन् ।”

यसरी हेर्दा अहिले एमाले, माके र नयाँ शक्तिबीचको एकता प्रतिक्रियावादी कित्ताकै एकथरीहरूबीचको एकता हो र यसमा क्रान्तिकारीहरूको उनीहरूसितको सम्बन्ध र सङ्घर्ष आमनेसामनेको हुन्छ ।

संश्लेषण :
रातातातजस्तो देखिने यो गठबन्धन सरसरती हेर्दा अनौठो र आश्चर्यलाग्दो छ । यो गठबन्धन कसले गरायो, कसरी भयो भन्नेभन्दा पनि यो घटनाले मुलुक नेपाली जनताको विवेक र चेतनाले होइन, बाह्य शक्तिले चलाउँदो रहेछ, उसैले फुटाउँदो रहेछ र उसैले मिलाउँदो रहेछ भन्ने बुझ्नका लागि घतलाग्दो आधार प्रदान गरेको छ । भनिने गरेको कुरा देखिने गरी प्रस्टिएको छ । किनभने यति सहज किसिमले यिनले आफ्नै विवेकले यस्तो निर्णय गरे होलान् भनेर विस्श्वास गर्न सकिने आधारहरू छैनन् । दुई ‘महाशक्ति’ बीचको सानो मुलक नेपाल, एकले अर्कालाई पछार्ने, वर्चस्व स्थापित गर्न प्रतिस्पर्धा गर्ने, रोष र प्रतिशोध पूरा गर्ने खेलमैदान बन्ने त होइन भन्ने चिन्ता पनि घटनाक्रमसित जोडिनु स्वाभाविक बनेको छ ।

यो गठबन्धन छिटै एकतामा गाँसिए माओवाद र माओवादी पदावलीले थप पीडा र बदनाम खप्नुपर्ने थिएन भनेर पनि कामना गर्न सकिन्छ । यस अर्थमा यो ‘महा गठबन्धन’ लाई सकारात्मक रूपमा लिनुपर्छ । यो गठबन्धन क्रान्तिकारीहरूका लागि चुनौती र अवसर दुवै हो । अबका दिनमा खुलेर र प्रस्ट रूपमा क्रान्तिकारीहरूले वाम मुखुण्डोधारी र परम्परागत दुस्मनसित एकै साथ लडनुपर्ने हुन्छ र यो जटिल पनि छ । यस गठबन्धन घटनाक्रमले क्रान्तिकारी शक्तिहरूलाई गम्भीर भएर सोच्न र व्यवहारमा जान नकारात्मक किसिमले भए पनि शिक्षा दिएको छ । प्रतिक्रियावादीहरू एकताबद्ध भए भन्दैमा भावनामा बगेर विचारको प्रश्नलाई छोडेर एकताबद्ध हुन नसके पनि समयले एकताका लागि पहल गर भनेर क्रान्तिकारी शक्तिहरूलाई आह्वान चाहिँ गरेको छ । नयाँ-पुराना प्रतिक्रियावादीहरूको ध्रुवीकरणको प्रक्रियाले क्रान्तिकारीहरूको एकता र ध्रुवीकरणको अभियानलाई चुनौती चाहिँ दिएको छ । यो संदेश पनि हो र शिक्षा पनि हो ।

अवश्य पनि अबका दिनहरू क्रान्तिकारीहरूका लागि साँच्चिकै चुनौतीपूर्ण दिनहरू हुनेछन् ।

जनमेलबाट सभार ।

Loading...