मेयर कपमा सुपर सिक्स सुरु हुँदै

चितवन । भरतपुरमा पहिलोपटक भइरहेको सिएमसी मेयर कप–२०७४ अन्तर वडा क्रिकेट प्रतियोगितामा सुपर सिक्सका खेलहरु सञ्चालन गरिने भएको छ । त्यसका लागि आइतबार समूह विभाजन गरिएको छ । चितवन मेडिकल कलेज(सिएमसी) टाइटल स्पोन्सर रहेको प्रतियोगितामा विजेता र उपविजेतालाई दिइने ट्रफीसमेत आइतबार सार्वजनिक गरिएको छ ।

सिएमसीमा आयोजित कार्यक्रममा कलेजका एशोसिएट प्रोफेसर ममता शर्मा न्यौपानेले ट्रफी सार्वजनिक गरिन् । भरतपुर क्रिकेट क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा अन्तिम ६ टिमको भिडन्ट ‘सुपर सिक्स’ असोज २३ गते सोमबारबाट खेलाइने आयोजक क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।

सुपर सिक्स चरणमा पुगेका टोलीहरुको गोला प्रथाबाट समूह विभाजन गरिएको छ । प्रतियोगिताको लिग चरण पार गरेका वडा नम्बर १० ‘ए’, २५ र ४ समूह ‘ए’ मा परेका छन् भने वडा न. १० ‘बी’, ७ ‘बी’ र २६ समूह ‘बी’ मा परेका छन् । यिनीहरुबाट पहिलो हुनेले ट्रफीसहित ५० हजार र दोस्रो हुनेले २५ हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिता यही असोज असोज १ गते भरतपुरस्थित वीरेन्द्र क्याम्पसको नौ बिघा खेल मैदानमा सुरु भएको थियो । दशैंमा विश्राम दिइएको खेलमा अहिले बाँकी चरण गर्न लागिएको हो । प्रतियोगितामा १८ वटा वडा टिम र सिएमसी को एक टिम गरी १९ टिमको सहभागिता थियो ।

ट्रफी सार्वजनिक कार्यक्रममा चितवनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पटक–पटक सहभागी खेलाडीद्वय दिपेश श्रेष्ठ र आकाश थापालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि न्यौपाने र भरतपुर क्रिकेट क्लबका अध्यक्ष अधिकारीले सम्मान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले सिएमसी जहिल्यै पनि खेल विकासका लागि लगानी गर्न तयार रहेको बताइन् । “हामी खेलमा रुचि राख्छौं”, उनले भनिन्, “अझै यस्तै प्रतियोगितामा सहकार्य गर्न तयार छौं ।” उनले यही स्तरको महिला क्रिकेट भए तुरुन्तै सहयोग गर्ने वाचा पनि गरिन् ।

त्यस्तै शिक्षाविद् रमाकान्त सापकोटाले खेलकुदले पढाइ बिग्रिन्छ भनेर बन्देज लगाउने जमाना गएको भन्दै दुवै कुरा सँगसँगै अघि बढाउन सकिने बताए । कार्यक्रममा वडा नम्बर २५ का अध्यक्ष विजय भुजेल, त्रिवि क्रिकेट खेलाडी संघका तर्फबाट प्रशान्त अधिकारी, क्लबका सल्लाहकार मित्रनिधि तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष अनिल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Loading...