वागवानी युवा समाजलाई राईनो कपको उपाधी

चितवन । दोश्रो वातावरणमैत्री राईनो कप खुल्ला भलिवल प्रतियोगिताको उपाधी वागवानी युवा समाजले जितेको छ । भरतपुर १३ चम्पानगर स्थित हिमाल युवा क्लवको आयोजनामा भएको प्रतियोगिताको शनिवार भएको फाईनलमा डि वाईसी वलुवालाई पराजीत गर्दै वागवानीले उपाधी जितेको हो ।

उपाधी जितेको वागवानीले नगद ५० हजारसहित ट्रफी प्राप्त गरेको छ । गत वर्ष भएको उपाधी भिडन्तमा वागवानी श्रीकृष्ण प्रणामी युवा परिषदसंग पराजीत भएको थियो । फाईनलमा वागवानी युवा समाजले २१–२५,२५–१९,२५–१८ र २५–२० को सेटमा डिवाईसीलँई पराजीत गरेको थियो । उपविजेता डिवाईसीले नगद ३० हजारसहित ट्रफीमा चित्त वुझाएको छ ।

सेमीफाईनलमा पराजीत किसान युवा क्लव र राईगंज युवा क्लवले नगद १०,१० हजार प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ठ खेलाडी घोषित भएका डिवाईसीका सुवास महतोले नगद ५ हजार पुरस्कार पाएको प्रचार प्रसार समिति संयोजक विवेक पोखरेलले जानकारी दिए ।

उत्कृष्ठ डिफेन्समा डिवाईसीकै दिलिप चौधरी,उत्कृष्ठ लिफ्टरमा डिवाईसीकै सुरज चौधरी र उत्कृष्ठ सटरमा वागवानीका देवा चौधरी घोषित भए । उनीहरुले समान ३,३ हजार रुपैया नगद पाए । विजेता,उपविजेता र उत्कृष्ठ खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका पुर्व अध्यक्ष यमवहादुर परियार ,भरतपुर १३ का वडाध्यक्ष प्रकास दवाडी र हिमाल युवा क्लवका अध्यक्ष केशव देवकोटाले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा भलिवलका पुर्व खेलाडीहरु लिलाधर पौडेल र तारानाथ सुवेदीलाई क्लवले सम्मान गरेको थियो ।

Loading...