संसदको म्याद अाजै राति देखि सकिँदै

काठमाडौँ । संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल अाजै रातिबाट सकिँदै छ ।

आगामी मंसिर १० र २१ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको मनोनयन हुने अघिल्लो दिन आजै मध्यरातिदेखि संसद्को अवधि समाप्त हुन लागेको हो ।

विसं २०७० मंसिर ४ मा भएको दोस्रो संविधानसभाको निर्वाचनबाट निर्वाचित ६०१ सदस्यीय संविधानसभा २०७२ असोज ३ मा नेपालको संविधान जारीपछि व्यवस्थापिका–संसद्मा रुपान्तरण भएको थियो । हाल संसद्मा ५९३ सदस्य कायम थिए ।

संविधानपछिका नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखजस्ता पदमा नयाँ निर्वाचन गर्दै नयाँ कानूनको तर्जुमामा यो सदनले महत्वपूर्ण थालनी गरेको छ । यो संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म भए पनि मंसिरमा निर्वाचन तय भएको र मनोनयनको मिति असोज २९ बाट शुरु हुने भएकाले संविधानको व्यवस्थाअनुसार आजै कार्यकाल सकिएको हो ।

नेपालको संविधानको भाग ३३ मा संक्रमणकालीन व्यवस्थामा मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद् कायम रहने उल्लेख भएकाले आज अन्तिम बैठक गरी कार्यकाल समापन भएको हो ।

संसद्को आजको अन्तिम बैठकमा सम्बोधन गर्दै विभिन्न दलका नेताले संविधान जारी हुनु, नयाँ कानून तय गरिनु, विभिन्न निर्वाचन सम्पन्न हुनुलाई उपलब्धि मानेका छन् भने तराई– मधेशका दलले संविधानमा हस्ताक्षर नगरेकोमा पूर्ण सन्तुष्टि भने जनाएका छैनन् ।

संसद्को कार्यकालभरिमा ६६६ दिन बैठक बसेको र यसबीचमा ५६ विधेयक पारित भए । पछिल्लो तेस्रो अधिवेशन २०७४ जेठ ८ मा प्रारम्भ भई १४६ दिन चल्यो । यसमध्ये ५६ दिनमा ६६ पटक बैठक बसी १२८ घण्टा ३५ मिनेट संसदीय काम भएको संसद् सचिवालयले जनाएको छ ।

यस अधिवेशनमा अघिल्लो अधिवेशनबाट आएकासहित कुल २८ विधेयक पारित भए भने १८ वटा सरकारी विधेयक दर्ता भएका थिए । त्यसमध्ये ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७४’ को छलफल समाप्त भए पनि पारित हुन सकेन ।

‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७४’ सम्बन्धित समितिमा विचाराधीन अवस्थामै छ । आम चासो बनेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ सम्बन्धित समितिबाट पारित भए पनि सभाबाट पारित गर्ने विषयमा प्रमुख दलबीच सहमति जुट्न सकेन । अन्य आठ विधेयक पनि विचाराधीन नै रहेका छन् ।

Loading...