आँफैले सुंगुरको खोर भनेको संसदमा किन पस्न खोज्दै छ वैद्य माओवादी

वुद्धनगरमा अायोजित पत्रकार सम्मेलनमा महासचिव मोहन वैद्य र निर्वाचन अायोगमा समानुपातिक सूची बुझाउने क्रममा नेता सीपी गजुरेल ।

काठमाडौं । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले सत्ता बन्दुकको नालबाट नै जन्मिने र बन्दु अवश्य पनि उठाउने भन्दै थिए । त्यत्तिकैमा उनले संसदीय व्यवस्थालाई सुंगुरको खोरको संज्ञा दिए ।

तर पनि उनीहरु नै संसदमा पस्न खोजिरहेका छन् । वैद्यले वुद्धनगरमा बसेर यसो भनिरहँदा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र कार्यालय सचिव हरिकृष्ण गजुरेल निर्वाचन आयोग परिसरमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका प्रयोजनका लागि समानुपातिक तर्फ आफ्ना उम्मेदवारको बन्द सूची बुझाउने तयारीमा थिए ।

बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव मोहन वैद्यले अहिले बन्दुक उठाउने वेला नभएको समेत बताए । पार्टीको राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न पार्टी मुख्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव वैद्यले क्रान्तिका लागि हतियार बन्दुक उठाउन आवश्यक भए पनि अहिले समय नआएको बताएका हुन् ।

‘क्रान्तिका लागि बन्दुक आवश्यक छ, सत्ता बन्दुककै नालबाट जन्मिन्छ भन्नेमा हामी ढुक्क छौँ,’ उनले भने, ‘हामी बन्दुक उठाउँछौँ, उठाउँछौँ भन्दैमा अहिले नै उठाइहाल्नु पर्छ भन्ने होइन्, अनुकुल समयमा बन्दुक ठाउँछौँ अहिले त्यो जनउभार छैन् ।’

उनले अहिले पनि पार्टी संघर्षमा रहेको भन्दै क्रान्तिको तयारीमा रहेको उनको भनाई थियो । ‘अब हामी क्रान्तिको तयारीमा लाग्छौँ, संघर्षमा छौँ, सानो ठूला संघर्ष जस्तो पनि हुन सक्छ,’ महासचिव वैद्यले भने । उनले पार्टीको भावी कार्यदिशा भनेकै जनवादी क्रान्ति भएको बताए । ‘अहिले क्रान्ति हुन सक्या छैन्, हाम्रो कार्यदीशा भनेकै जनवादी क्रान्ति हो,’ उनले भने ।

महासचिव वैद्यले संघीय निर्वाचनको उपयोग तत्कालिन कार्यनीति भएको बताए । ‘हिजो २०७० सालको संविधान सभा निर्वाचनको वहिस्कार पनि तत्कालिन कार्यनीति थियो, त्यो सही पनि थियो,’ उनले भने, ‘अहिले स्थानीय तहको निर्वाचन र आगामी संघीय निर्वाचनको उपयोग पनि तत्कालिन कार्यनीति हो ।’ अहिलेको अवस्थामा क्रान्ति सुरु गर्ने अनुकुल समय नभएका कारण जनतामाझ पुग्नका लागि निर्वाचनलाई उपयोग गर्ने नीति लिइएको भन्दै उनले यो कार्यनीति बदलिन समेत सक्ने बताए । अहिले नै आन्दोलनको उभार नभएका कारण यस्तोवेलामा जनतामाझ पुग्नका लागि निर्वाचन उपोग गरिएको उनको भनाई थियो ।

‘संसदीय प्रणाली सुंगुरको खोर हो, पार्टीको मोर्चा यही सुंगुरको खोरमा जाने निर्णण भएको छ,’ उनले भने, ‘यही सत्ता, व्यवस्था र संविधानको भण्डाफोर गर्न र संगठन निर्माणको आधार तयार पार्न पार्टीको वैधानिक मोर्चा मार्फत् निर्वाचनको उपयोग गर्ने नीति लिएका हौँ ।’ उनले पार्टी निर्वाचनमा नगए पनि मोर्चालाई निर्वाचनमा सहयोग गर्ने समेत स्पष्ट पारे ।

उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन वामपन्थी नभएको समेत उनको टिप्पर्णी थियो । उनले अहिलेकै अवस्थामा यो गठबन्धनसँग सहकार्य हुन नसक्ने बताए । एमाले, माओवादी, कांग्रेस, राप्रपा नाममा मात्र फरक भए पनि उनीहरुको काम एउटै भएको बताए ।

‘हिजो फरक थिए, आज एउटै भए, यी सबै एउटै थैलीका चट्टाबट्टा हुन्,’ महासचिव वैद्यले भने, ‘रुप र नाम फरक भए पनि काम एउटै छ, यी सबै साम्राज्यवाद, विस्तारवाद र वैदेशिक दलालका एजेण्टहरु हुन् ।’

पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने निर्णय गरेको भन्दै त्यसका लागि प्रयास सुरु भएको बताए । प्रगतिशील र क्रान्तिकारीहरुबीच एकता गर्ने निर्णय स्वरुप नेकपा (मसाल), विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपासँग पहल गरिएको उनले जानकारी दिए । चाहेर नचाहेर पनि क्रान्तिकारीहरुबीचको एकता वा ध्रुवीकरण वाध्यात्मक बनेर गएको महासचिव वैद्यले बताए ।

गत २२ देखि २६ असोजसम्म पोखरामा सम्पन्न पार्टीको सम्मेलनले सामन्तवर्ग र साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध परिलक्षित नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई थप समृद्ध तुल्याएको महासवि वैद्यले जानकारी थिए । सम्मेलनले विकसित हुँदै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र राजनीतिक शक्तिहरुको थप अध्ययन गदै दुई वा तीन दलीय सिण्डिकेट प्रणाली जन्मिएको तथा लोकतन्त्रका नाममा फासिवाद हुकिर्न थालेको, कम्युनिस्ट नामधारी दक्षिणपंन्थीहरुको प्रतिक्रियावादीकरण भएको र अन्तर्राष्ट्रिय रुपमा विश्वयुद्धको खतरा पैदा हुन थालेको निष्कर्ष निकालेको छ ।

Loading...