भूकम्प पीडितलार्इ ठग्दै गरिमा विकास बैंक, प्रति लाभग्राही हजार रूपैयाँ ठगी

चितवन । जिल्लाको पहाडी क्षेत्रमा भूकम्पपीडितका लागि घर निर्माण अनुदान सम्झौता गरेको गरिमा विकास बैंकले लाभग्राहीलाई ठग्ने गरेको पाइएको छ ।

अुनदानको पहिलो किस्ता वापतको रकममा प्रति लाभग्राहीसँग एक हजार रूपैयाँ बैंकले राख्ने गरेको छ । शून्य रकममा खाता खोली ५० हजार पाउने सम्झौता सरकारसँग भए पनि बैंकले लाभग्राहीलाई गुमराहामा पार्दै जम्मा ४९ हजार मात्र दिने गरेको छ ।
किन सबै रकम नदिएको ? भन्ने प्रश्नमा मुग्लिन स्थित गरिमा विकास बैँकका व्यवस्थापक नारायण महतोले भने, ‘लाभग्राहीलाई बैंकमा आउने र हस्ताक्षर गर्ने बानी परोस् भन्नका लागि हो ।’

अधिकांश चेपाङ र अन्य पिछडिएका जाति समेत बसोबास गर्ने त्यस भेगका पीडितहरु बैंकले जबरजस्ती एक हजार राख्ने गरको बताउँछन् । बैंकमा शुक्रबार ३ बजेको समयमा पुग्दा फिस्लिङका सूर्यबहादुर प्रजा छोराको साथमा भेटिए । भूकम्पको पैसा बुझ्न आएका उनले ४९ हजार रकम गने । पचास हजार रुपैयाँ पाउने होइन र ? भन्ने प्रश्नमा सूर्यले भने, ‘खै बैंकले यति नै दियो ।’

भूकम्पपीडित इच्छाकामना गाउँपालिका–३ का समुन्द्र भट्टराईले भने, ‘के भयो त तपाइँको पैसा खातामा बसिरहन्छ भनेर पूरै पैसा दिँदै दिन्नन् ।’ इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङले बैंकले पूरै रकम नदिएको भन्ने गुनासो आफू कहाँ पनि आएको भन्दै यस विषयमा बैंकलाई सचेत गराइने बताइन् ।

बैंकको ठगी धन्दा यस्तो
बैंकले सबै लाभग्राहीसँग एक हजार रूपैयाँका दरले रकम राख्दा यस क्षेत्रका दुई हजार ३५३ जना लाभग्राही प्रभावित हुने देखिएको छ । प्रति लाभग्राहीबाट हजार रूपैयाँको दरले २३ लाख ५३ हजार बैंकमा जम्मा हुने देखिन्छ ।

भूकम्पपीडित मध्ये अधिकांश निरक्षर, पहुँच नभएका, पहाडी क्षेत्रका हुँदा यसको फाइदा बैंकले लिने देखिन्छ । त्यस्तै कतिपय लाभग्राहीले पहिलो किस्तापछि घर नबनाउने हुँदा एक हजार रुपैया लिनका लागि मानिसहरु बैंकमा जाँदैनन् । २३ लाख रुपैयाँ खेलाउन पाउनुका साथै बैकमा खाता खोल्ने ग्राहकको सक्रियता संख्या पनि देखिँदा बैंकलाई राम्रै लाभ हुने देखिन्छ ।

तीन महिनापछि आयो पैसा
सम्झौता गरेको बैंक र सरकारी कार्यालयहरुको गैरजिम्मेवारीपनका कारण ६०१ जना भूकम्पपीडित पहिलो किस्ता वापतको रकम ३ महिनापछि पुनः बैंकमा संकलन भएको छ । असार महिनामै पाउने पहिलो किस्ताको रकम यसै हप्ता मात्र बैंकमा पुनसंकलन भएको हो ।

पहिलो चेक असार २१ गतेको मितिमा काटिएको चेक साउन ६ गते बैंकमा पुगेको थियो । चेकमा हस्ताक्षर गल्ती भएको ढिला गरेर थाहा पाएको भन्दै बैंकका व्यवस्थापक महतो जिम्मेवारीबाट पन्छिएका थिए ।

चितवनको इच्छाकामना गाउँपालिकाका भूकम्पपीडितका लागि विनियोजित तीन करोड ५० हजारको चेकमा खेलवाड भएको हो । कहिले कर्मचारी नहुने, चेक सच्चाउन भरतपुरसम्म पुग्नुपर्ने भन्दै बैंकमा लामो समयसम्म चेक त्यतिकै रहेको व्यवस्थापक महतोले बताएका थिए । बैंकले जिम्मेवार भएर काम नगर्दा भूकम्पपीडितले दुःख पाएका छन् ।

दैनिक ४० जनालाई रकम
बैंकका व्यवस्थापक नारायण महतोले दैनिक अधिकतम ४० जनालाई मात्र अनुदान सम्झौताको रकम दिन सकिने बताएका छन् । हालसम्म ३९२ जनाले सम्झौता वापतको रकम लगिसकेको भन्दै उनले बैंकको अन्य नियमित कामले गर्दा जम्मा बढीमा ४० जनालाई मात्रै दिन सकिने बताए । दैनिक ४० जनालाई दिँदा भर्खर पुगेको ६०० जनाको रकम दिन १५ दिन लाग्ने देखिन्छ । चेक दर्ता, प्रमाणीकरण, स्क्यानिङ गर्दा समय लाग्ने गरेको व्यवस्थापक महतोको भनाइ छ ।

‘पहिलो किस्ताको रकम असोज भित्र सम्झौता भई लाभग्राहीले लिइ सक्नुपर्ने हुन्छ’, पुनर्निर्माण प्राधिकरण चितवनका प्रमुख राजेन्द्र कार्कीले भने, ‘भूकम्पपीडित बैंकमा पुगेपछि जसरी भए पनि बैंकले भुक्तानी दिनुपर्छ, पैसा पाइएन भन्दै लाभग्राही फर्कनु परेमा बैंकको सम्झौता बारे सोच्न बाध्य हुन्छौं ।’

सूचनाको अभावमा दुःख पाउँदै पीडित
बैंकमा रकम आए नआएको बारे सूचना नपाउँदा भूकम्पपीडितहरुले दुःख पाउने गरेका छन् । ‘पैसा आयो रे भन्ने बित्तिकै गाउँका सबै पैसा लिन झर्छन्, इच्छाकामना गाउँपालिका १ का वडा अध्यक्ष नन्नलाल गिरीले भने, ‘पाउनेहरुको नाम गाउँमा पुगेदेखि सम्बन्धितहरु मात्रै बैंकमा जान्थे जसले गर्दा सबैले दुःख पाउनु पर्दैनथ्यो ।’

हालसम्म २३ सय सम्झौता
इच्छाकामना गाउँपालिकामा हालसम्म दुई हजार ३५३ जनाको पुनर्निर्माणका लागि सम्झौता भएको जिल्ला समन्वय समिति चितवनका शाखा अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए ।

एक हजार २३२ जनाको पैसा बैंकमा गइसकेको र अन्यको बाँकी नै रहेको उनले जनाए । चितवन जिल्ला भरी कुल ७ हजार ३३५ भूकम्पपीडित पूर्ण क्षतिको लाभग्राहीमा सूचीकृत छन् । हालसम्म चार हजार ४०० जनाको सम्झौता भइसकेको शाखा अधिकृत पौडेलले जानकारी दिए । दिपेन्द्र अधिकारी, चितवन पोष्ट दैनिकबाट

Loading...