क्याटलोनियालार्इ स्वायत्त शासन अधिकारबाट बञ्चित तुल्याइने

बार्सिलोना/बीबीसी । स्पेनको सरकारले आउंदो शनिवारबाट देशको क्याटलोनिया क्षेत्रलाई स्वायत्त शासन अधिकारबाट वन्चित तुल्याउने प्रकृया आरम्भ गरिने जनाएको छ।

स्पेनी संविधानको धारा १५५ अन्तरगत सिनेटको औपचारिक अनुमोदन हासिल गर्न मन्त्रीमण्डलले त्यस्तो प्रकृयाको खाका तयार पार्नेछ। त्यसपछि सो क्षेत्रको शासन व्यवस्था चलाउने अधिकार केन्द्रलाई प्राप्त हुनेछ।

उक्त संवैधानिक प्रकृयालाई यसअघि कहिल्यै सकृय तुल्याइएको थिएन। सरकारका एकजना प्रवक्ताले भने, “क्याटलान सरकारले श्रृजना गरेको आर्थिक अवनतिलाई रोक्न र त्यहां वैधानिकता पुनर्वहाली गर्न सरकारले सबै उपाय अपनाउनेछ भन्नेमा कसैले शंका नगरे हुन्छ।”

क्याटलान नेता कार्लेस पुज्डमोनले वर्तमान संकटका बारे छलफल गर्न मड्रिडले अस्वीकार गरेमा आफूले क्षेत्रिय संसदमा स्वतन्त्रता घोषणालाई अनुमोदन गराउने धम्की दिएपछि केन्द्र सरकारले त्यस्तो कदम चालेको हो।

क्याटलान नेता पुज्डमोनले गत हप्ता गरेका स्वतन्त्रताको घोषणालाई फिर्ता लिन केन्द्र सरकारले दिएको समयसिमालाई बेवास्ता गरेका थिए। बदलामा उनले वार्ताका लागि आह्वान गरेका थिए।

सरकारको पछिल्लो कदमबाट देशमा थप अशान्ति मच्चीने कतिपयले आशंका व्यक्त गरेका छन्। गत अक्टोबर एक तारिखमा आयोजित स्वतन्त्रा सम्बन्धी जनमतसंग्रह अघि र पछि विभिन्न हडताल र ठूला विरोध प्रदर्शनहरु भएका थिए।

उक्त जनमत संग्रहलाई स्पेनको सर्वोच्च अदालतले गैरकानुनी ठहर गरिदिएको थियो र त्यसबाट देशलाई अविभाज्य भनेर गरिएको संवैधानिक प्रावधान उलंघन भएको फैसला दिएको थियो।

अब यही शनिबार सरकारले संविधानको प्रावधान अनुसार क्याटलोनियाबाट मड्रिडमा शक्ति हस्तान्तरण प्रकृया आरम्भ गर्न सक्नेछ।

त्यस्तो प्रकृयामा क्षेत्रीय प्रहरी र अर्थ व्यवस्थासमेतलाई नियन्त्रणमा लिने र अर्को निर्वाचनको आह्वान गर्ने सम्मका गतिविधि पर्न सक्छन्।

ती प्रावधानहरुलाई प्रधानमन्त्री मारिआनो राखोईको पुरातनवादी पपुलर पार्टी र साझेदारहरुको नियन्त्रणमा रहेको सिनेटले अनुमोदन गर्नु पर्नेछ।

Loading...