गोरखा २ हेभिवेट भिडन्तः कसको स्वर गुञ्जिएला संघीय संसदमा ?

बाबुरामलार्इ गोरखा २ छाडेर १ राख्यो काँग्रेसले

काठमाडौँ । २ वटा क्षेत्र रहेको गोरखामा यसपटक निर्वाचनको बेग्लै रौनक छाएको छ । मंसिर १० को निर्वाचनमा यहाँ हुने हेभिवेट भिडन्तको चर्चा चुलिएको छ ।

नेपाली कांग्रेसको समर्थनमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुँदै गर्दा नेकपा एमालेको समर्थनमा माअोवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उम्मेदवार बन्ने भएपछि सबैको ध्यान गोरखा २ मा केन्द्रित भएको छ ।

गोरखा २ मा प्रतिनिधिसभामा भट्टराईलाई कांग्रेसले सघाउने सहमति भएको कांग्रेस उच्च स्रोतले जनायो। तर भट्टराई आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुंगो लागेको छैन।

गोरखा २ मा कांग्रेसको समर्थनमा उम्मेदवार बनेका भट्टराई र एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठबीच आउँदो मंसीर १० गते चुनावी प्रतिस्पर्धा हुनेछ।

कांग्रेसको शुक्रबार बेलुकी बसेको बैठकले गोरखा १ मा प्रतिनिधिसभा सदस्यका लागि केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठलाई टिकट दिएको छ। कांग्रेस उमेद्वारलाई क्षेत्र नंं १ मा नयाँ शक्तिले सघाउने छ।

यस्तै गोरखा १ को क प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले धिरन थापालाई टिकट दिएको छ। प्रदेश ख मा राजेन्द्र बजगार्इँले टिकट पाएका छन्।

नयाँ शक्तिले प्रदेश क मागेको छ भने कांग्रेस दुवै प्रदेश आफूले पाउनुपर्ने दावी गर्दै आएको छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र नयाँ शक्तिका संयोजक भट्टराईबीच शनिबार दिउँसो बस्ने बैठकले साझा उमेद्वार तय गर्ने जनाइएको छ।

साथै वाम गठबन्धनमा सहभागी एमालेलाई गोरखामा एउटा प्रदेश दिएर अरु माओवादीले राखेको छ। क्षेत्र १ को ख प्रदेशमा एमालेका तर्फबाट केन्द्रिय सदस्य रामशरण बस्नेत चुनावी मैदानमा छन्। गठबन्धनबाट गोरखा १ मा माओबादीका हरि अधिकारीले टिकट पाएका छन् भने प्रदेश क मा लेखबहादुर थापाले टिकट पाएको माओवादीले जनाएको छ।

वाम गठबन्धनबाट गोरखा २ प्रतिनिधसभामा नारायणकाजी श्रेष्ठले टिकट पाएका छन्। यस्तै प्रदेश क मा कमला नहर्की र ख मा अमर तमुले टिकट पाए। गठबन्धनले समानुपातिकतर्फ पनि उमेद्वार तय गरिसकेको जनाएको छ। हितराज पाण्डे र चुडामणि खड्का प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिकतर्फ उमेद्वार बनेका छन् ।

एउटै क्षेत्रबाट दुर्इ पूर्व राजनीतिक सहयात्रीहरू चुनावी होडमा होमिएका छन् । स्मरण रहोस यी दुबै नेपालको सहमितिय राजनीतिमा योगदान भएका नेता हुन् । अब यी दुर्इ मध्ये एक जना संघीय संसदमा देखिने छैनन् ।

Loading...