नागरिकताबाट वञ्चित नागरिकको कथा तश्विरमा

काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सीलमा नागरिकताबाट बञ्चित नेपालीहरूको व्यथा समेटिएको तीन दिने फोटो प्रदर्शनीको आयोजना गरिएको छ । नेपाली नागरिक विविध कारणले नागरिकताबाट बञ्चित हुँदै आएको लामो समय भएको छ ।

यत्तिबेला नयाँ संविधान कार्यान्वयन भईरहेको अवस्थामा नागरिकता सम्वन्धी कानुन नबनेको भन्दै नागरिकता नबन्ने क्रम यथावत नै रहेको समयमा आयोजित ‘नागरिक तर ?’ नागरिकताबाट बञ्चित नेपालीहरूको कथा सम्वन्धी फोटो प्रदर्शनीको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गर्नुभएको हो ।

निर्वाचन नजिकै गर्दा मत माग्न घर, घर पुग्ने उम्मेदवारलाई नागरिकता सम्वन्धी ऐन बनाउन दबाव दिन सुझाव दिंदै उहाँले नीति बनाउनेहरूलाई झकझकाउन प्रदर्शनीले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा अध्यक्ष शर्माले नागरिकताका समबन्धमा न्यायालयहरूबाट भएका केही फैसलाहरूको सारसंक्षेप तथा प्रतिपादित नजिर समेटेर तयार पारिएको पुस्तकको लोकार्पण समेत गर्नुभयो ।

महिला कानुन विकास मञ्चका अध्यक्ष अधिवक्ता मिरा ढुङ्गानाले नागरिकता सम्वन्धमा न्यायालयहरूबाट भएका फैसलालाई अन्य कर्मचारीले नजिरका रूपमा लागु नगर्ने अवस्थाका कारण पनि कयौं नेपाली नागरिकता विहिन हुनुपर्दा उनीहरू प्राप्त अधिकारको सदुपयोग गर्नबाट बञ्चित छन् भन्नुभयो ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपाली नागरिकता लिनका लागि जस्तोसुकै परिस्थती आइपरेपनि रगत–पसिना बगाएर जन्म दिएर हुर्काउने आमाको भन्दा पिताको बढि खोजी र चासो लिने पितृसत्तात्मक सोच र नियमका कारण लाखौं नेपालीका आमा र उनका बालबालिका पीडित भइरहेको छ भन्नुभयो ।
संविधानको व्यवस्थाले नेपाली चेली नै नागरिकता विहीन बनाईरहेको सन्दर्भ कोट्याउँदै नागरिकता सम्वन्धी ऐन छिट्टो बन्नुपर्ने र कार्यान्वयनमा आउनुपर्ने जिकिर गर्नुभयो ।
दुईदिने प्रदर्शनीमा राखिएका हरेक फाटोहरूले नागरिकता विहीन हुनुपर्दाको दुःखद कथा र व्यथा बोलिरहेका छन् ।
ति फोटोहरू नागरिकता लिन सङ्घर्ष गरिरहेका महिला र तिनका युवा अवस्थाका छोराछोरीहरू छन् । उनीहरूले नागरिकता लिन नपाउँदा उच्च शिक्षा हासिल गर्नमा समस्या, व्यापार व्यवसाय गर्नका लागि बैंकबाट सहुलियत दरमा ऋण नपाएर चर्को व्याज तिरेर काम गरिरहेका, जन्मदर्ता नहुँदा स्कुलबाटै निस्कासित,मोवाईलको सिम लिन, उच्च शिक्षाका लागि छात्रवृत्ति पाउन,वैदेसिक रोजगारीमा जान, नेपाल सरकारको सेवाका जागिर गर्न नपाएकोलगायत समस्या नागरिकताविहीन नेपालीहरूले भोग्नुपरेको सम्पूर्ण दृष्टान्त उल्लेख छन् ।
महिला कानुन विकास मञ्च र नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालको सहकार्यमा आयोजित प्रदर्शनीमा नेपाली भएर पनि नागरिकता नपाउने विशेष कारणमा भने विदेशी नागरिकसँग विवाह गरी नेपालमै बसोबास गरेको, धेरैजसो अन्तरजातिय विवाह गर्दा घरपरिवारले नस्वीकारेको, पिताले गर्भमा छँदै छाडेर वेपत्ता भएको र नाता नस्विकारेको समेत छन् ।
यसबाट पीडित नागरिकका लागि हरेक अवसरका ढोका बन्द र रातदिन तनावमा जीवन गुजारिरहेको समस्या टड्कारो देखिन्छ । साथै नागरिकतासम्वन्धी संविधानमा भएको व्यवस्था, नागरिकता प्राप्तीका लागि भएको फैसला र संविधानमा नागरिकता समवन्धी बाँझिएका प्रावधान र सच्याउनुपर्ने बुँदाहरू समेतलाई फ्रेमिङ गरेर प्रदर्शनीमा राखिएका छन् ।

 

Loading...