देउसी खेलेर संकलित रकम नाट्य समूहलाई

चितवन । भरतपुर महानगरपालिका वडा नं.२ स्थित आदर्श नगरका युवाहरूले कर्मी नाट्य समूहलाई आर्थिक सहयोग गरेको छ । बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरेर समूहलाई रकम हस्तान्तरण गरेको हो ।

गएको तिहारमा देउसी खेलेर संकलन भएको ५१ हजार रूपैयाँ रकम देउसी भैलो कार्यक्रमा संयोजक बोधकुमार आलेमगरले कर्मी नाट्य समूहका संयोजक मुकुन्द खलपात्रलाई हस्तान्तरण गरे । नेपाली नाटक क्षेत्रमा काम गर्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको मगरले बताए ।

देउसी भैलो पनि कला र संस्कृतिभित्रै पर्ने भएकोले संकलित रकम कला क्षेत्रको विकासका लागि सहयोग गरिएको उनको भनाइ छ । सुरूमा रमाइलोका लागि युवाहरू मिलेर देउसी खेले पनि पैसा संकलन भएकोले सही सदुपयोग होस् भन्ने हेतुले सिडमनिस्वरूप समूहलाई सहयोग गरिएको हो ।

समूहले तीनदिनसम्म देउसी खेलेर उक्त रकम संकलन गरेको हो । प्राप्त सहयोग रकमले चितवनमा रहेर नाट्य क्षेत्रका लागि काम गर्न सजिलो हुने समूहले अपेक्षा लिएको छ । समूहका संयोजक मुकुन्द खलपात्रले रकमको हिसाबले थोरै भए पनि यसले ठूलो र मह¤वपूर्ण काम गर्ने बताए ।

युवाहरूको समूहले नेपाली कला संस्कृति जोगाउनको लागि खेलेको भूमिका मह¤वपूर्ण रहेको भन्दै सहयोगी युवाहरूलाई धन्यवाद दिए । यो रकम सही ठाउँमा सदुपयोग हुनेमा ढुक्क हुन उनले आग्रह गरे । आर्थिक अभावका कारण माथि उठ्न नसकेको कर्मी नाट्य समूहले अबको केही समयभित्रै एउटा नाटक तयार पारेर मञ्चन गर्ने योजना समेत बनाइसकेको छ ।

आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले असर नपारेमा मंसिर १५ गतेसम्ममा एउटा नाटक तयार पार्न सकिने समूहका संयोजक खलपात्रले जानकारी दिए । निर्वाचनले प्रभाव पारेमा निर्वाचनपछि नाटक मञ्चन गर्ने उनको भनाइ छ । चितवनमा एउटा पनि थियटर नभएकोले थियटर स्थापना गर्नुपर्ने सोचाइमा समूह लागी परेको छ ।

समूहका सदस्य अञ्जान ढुङ्गानाकाअनुसार थियटर निर्माणका लागि समूहले पहल थालेको छ । सामान्यतया एउटा थियटर निर्माण गर्नको लागि कम्तिमा पनि १५ लाख रूपैयाँभन्दा बढी रकम आवश्यक पर्ने ढुङ्गानाले बताए ।

 

Loading...