११ औँ वर्षमा ओम विकास बैंक, नारायणगढमा प्रभातफेरी

चितवन । ओम डेभलपमेन्ट बैंक लि. ले ११ औं बार्षिकोत्सवको अवसरमा विहीबार प्रभातफेरी कार्यक्रम गरेको छ । नारायणगढ पोखरा वसपार्कबाट सुरु भएको प्रभातफेरी पुल्चोक, लायन्सचोक, चौविसकोठी हुँदै मालपोत चोकमा पुगेर समापन भएको थियो ।

प्रभातफेरी कार्यक्रममा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । पोखरा चिप्लेडुंगामा मुख्य कार्यालय रहेको यस बैंकको ४१ शाखा रहेका छन् । चितवनमा लायन्सचोक, मेनरोड, मालपोत चोक, पर्सा र टाँडीमा शाखा रहेको छ । निकट भविष्यमै चनौलीमा पनि शाखा खोल्ने तयारी रहेको बैंकका सहायक महाप्रबन्धक तथा क्षेत्रीय प्रमुख दुर्गाराम पुरीले बताए ।

जनमानसमा वित्तिय साक्षरताबारे जानकारी गराउने र भविष्यका लागि बचत भन्ने नाराका प्रभातफेरी आयोजना गरिएको बैंकका लायन्सचोक शाखा प्रबन्धक विवेक अधिकारीले बताए । चितवन सँगै पोखरा र काठमाडौंमा पनि प्रभातफेरी आयोजना गरिएको अधिकारीले बताए ।

वार्षिकोत्सवको तयारीमा रहेको ओम डेभलोपमेन्ट बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक जर्मनीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतीमा दिगो आर्थिक विकास कार्यक्रम अन्तर्गत कर्जा लगानी गर्नको लागि गत बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानीको गर्न १० बर्षको लागि रकम उपलब्ध गराउनेछ । केएफडब्लु जर्मनको सबैभन्दा ठुलो सरकारी डेभलपमेन्ट हो । नेपालका बैंक तथा बित्तीय संस्थाहरुमध्ये पहिलो चरणमा ओमलाई सहकार्यको लागि छनौट गरेको हो ।

Loading...