चितवनको पर्यटन र कृषिमा लागनी गर्न चिनियाँ चासो

चितवन । नेपालका लागि मित्र राष्ट्र चीनका राजदुत यु होङले चितवनको कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताएकी छन् । जिल्ला समन्वय समिति चितवनमा सोमबार आयोजित भेटघाट कार्यक्रममा चिनियाँ राजदुत यु होङले नेपालको विभिन्न क्षेत्रमा चिनियाँ सरकारले सहयोग गरेको स्मरण गर्दै चितवन जिल्लाको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा राजदुत होङले पर्यटकीय नगरीको रुपमा विकसित चितवनको पर्यटन क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्न इच्छुक रहेको बताईन् । आधुनिक कृषि प्रणाली चितवनमा आवश्यक रहेको भन्दै उनले कृषि क्षेत्रको विकासको लागि चीन सरकारले आवश्यक प्राविधिक सहयोग गर्ने समेत बताईन् । जिल्लामा प्राविधिक शिक्षामा सहयोग गर्न पनि चीन सरकार सकारात्मक रहेको राजदुत होङले बताईन् ।

चीन सरकारको सहयोगमा बनेको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नती र आधुनिकीकरणका लागि सहयोग गर्ने, त्यस्तै चीन र नेपालको विकास र विकासका अवधारणा आदानप्रदान गर्न पनि आवश्यक रहेको भन्दै राजदुत यु होङले चीनमा हुन लागेको चिनियाँ एक्स्पोमा सहभागी हुन समेत जिल्ला समन्वय समिति प्रमुखलाई अनुरोध समेत गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवनको भौगोलिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका स्थानीय विकास अधिकारी कृष्ण प्रसाद सुवेदीलगायतले चितवनको विकास निर्माण र आवश्यक सहयोग गर्नुपर्ने क्षेत्रको बारेमा जानकारी गराएका थिए ।

Loading...