झापा ३ सिटौलालार्इ फलामको च्यूराः लिङ्देनलार्इ बाम गठबन्धनले सहयोग गर्ने

काठमाडौं । काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालार्इ झापा ३ बाट काँग्रेसले उम्मेदवार बनाउँदै गर्दा राप्रपासँगको काँग्रेसको तालमेल भाँडियो । यतिले मात्र नभएर मेची अञ्चलमा काँग्रेसलार्इ थप धक्का लाग्ने भएको छ ।

काँग्रेसका सिटौलालार्इ झापा ३ बाट निर्वाचन जित्न अब फलामको च्यूरा चबाउनु जस्तै हुने छ । यहाँ राप्रपाका महामन्त्री राजेन्द्र लिंदेन चुनावमा उठ्दै छन् । उनलार्इ एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले साथ दिने भएको छ ।

एमाले झापाका अध्यक्ष चिन्तन पाठकले राप्रपालाई ३ नम्बर क्षेत्रमा सघाउने सहमति भएको जानकारी दिए । उनका अनुसार अब राप्रपाले मेची अञ्चलभर बाम गठबन्धनका उम्मेदवारलार्इ सहयोग गर्ने छ । यस विषयमा माअोवादी केन्द्रका नेता राम कार्कीले समेत झापामा भएको सहमतिलार्इ परिस्थितिले बनाएको सहमतिको संज्ञा दिए ।

कार्की झापा १ बाट उम्मेदवार बन्दै छन् । यहाँ काँग्रेसका युवा नेता विश्वबन्धु थापालार्इ काँग्रेसले उठाउने निर्णय गरेको छ । यसअघि झापा ३ मा कांग्रेस र राप्रपाबीच तालमेल गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई समानुपातिकको सूचीमा राखेको थियो भने राप्रपाले लिङ्देनलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

बुधबार मात्र काँग्रेसले सिटौलालार्इ झापा ३ बाट उठाउने निर्णय गरेको छ । झापा ३ मा भद्रपुरका १ देखि ८ वडा र बिर्तामोड नगरपालिकाको १० नम्बर वडा पर्दछ । केचनाकवल, हल्दीबारी र बाह्रदशी गाउँपालिका पनि ३ नम्बर क्षेत्रमै पर्दछन् ।

स्थानीय तह निर्वाचका अाधारमा यस क्षेत्रमा काँग्रेसले १८२६० मत ल्याएको थियो । भने एमालेले २० हजार दुई सय ९६, राप्रपाले १२ हजार आठ सय ८१ र माओवादीले १० हजार चार सय ४४ मत पाएका छन् । यसअाधारमा हेर्दा लिङ्देनको पक्षमा ४३६२१ मत देखिन्छ । जुन काँग्रेसको मत भन्दा २५३६१ मत बढी हो ।

बाम गठबन्धनको पूरै मत लिङ्देनलार्इ नगए पनि उनले केही मेहनत गरे काँग्रेसका सिटौलालार्इ पराजित गर्न सक्ने सम्भावना बढेको छ ।

Loading...