तेह्रथुममा रोचक भिडन्तः एउटा पार्टीबाट सिफारिस अर्को बाट उम्मेदवार, दुर्इ पार्टीका अध्यक्ष चुनावी भिडन्तमा

तेह्रथुम । जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् । मनोनयन दर्ताको अघिल्लो दिन यहाँको राजनीतिमा रोचक प्रसंग देखिएको छ ।

काँग्रेसले तेह्रथुम प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सिफारिश भएका केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई टिकट दिएको छ ।
उनी मंगलबार मात्र काँग्रेसमा प्रवेश गरेका थिए । सम्बाहाम्फे प्याब्सनका केन्द्रीय अध्यक्षसमेत हुन् ।

उनी पाँच वर्षअघि काँग्रेस छाडेर माओवादी प्रवेश गरेका थिए । त्यसयता उनलार्इ माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारको रूपमा रहेका थिए । मंगलबार उनी अाफ्नो पूरानो घर फर्किए ।

यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेले भने प्रदेश कमिटी सदस्य तथा पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवालाई उम्मेदवार बनाउने भएको छ । कन्दङवा जिविसका पूर्वउपसभापतिसमेत हुन् । कन्दङवाको नाम प्रतिनिधिसभामा सिफारिश भए पनि एमालेले उनलाई प्रदेशसभामा मात्रै टिकट दिएको हो ।

यसैबीच राजधानीबाट टिकट लिएर मनोनयन दर्ताका लागि उम्मेदवारहरू जिल्लामा फर्किएका छन् । टिकटका लागि महिनौँदेखि काठमाडाँैमा रहेका नेता आज टिकट लिएर जिल्ला फर्किएका छन् ।

दोस्रो चरणमा २१ मंसिरमा निर्वाचन हुने जिल्लामा बिहीबार उम्मेदवारको मनोनयन हुँदैछ । जिल्लामा प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।

काँग्रेसले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाबाट प्रत्यक्षतर्फ भौतिक पूर्वाधार तथा यातायातराज्यमन्त्री सीता गुरुङलाई उम्मेदवार बनाउने भएको छ । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी गुरूङ जिल्लाबाट दुईपटक संविधानसभामा समानुपातिकतर्फबाट सदस्य भएकी हुन् ।

उनलाई काँग्रेस जिल्ला कार्यसमितिले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिश गरी पठाएको थियो । यता वाम गठबन्धनका तर्फबाट जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा दुवैतर्फको सिट एमालेको भागमा परेको छ । एमालेले जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तेस्रो पटक भवानीप्रसाद खापुङलाई उम्मेदवार बनाउने भएको छ । खापुङ विसं २०७० को संविधानसभा निर्वाचनमा जिल्लाबाट निर्वाचित भएका थिए ।

त्यसअघि विसं २०६४ को संविधानसभा निर्वाचनमा खापुङ काँग्रेसकै तुलसी सुब्बासँग पराजित भएका थिए । प्रदेशसभा सदस्यको निर्वाचततर्फ ‘क’ निर्वाचन क्षेत्रमा काँग्रेस र एमालेका जिल्ला पार्टी प्रमुखको रोचक भिडन्त हुने भएको छ । काँग्रेसले जिल्ला सभापति गोविन्द ढुंगानालाई सर्वसम्मत सिफारिश गरी पठाएको थियो । एमालेले पनि जिल्ला अध्यक्ष लक्ष्मण तिवारीलाई उम्मेदवार बनाउने भएपछि यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रदेशसभा ‘क’ क्षेत्रमा म्याङलुङ नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका पर्दछन् भने अर्को क्षेत्रमा मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका रहेका छन् । छ स्थानीय तहमध्ये स्थानीय चुनावमा भने नेकपा एमालेले पाँच र काँग्रेसले एउटामात्रै जितेको थियो ।

 

Loading...