सिराहामा चुनाबी रौनकः मन्त्रीहरूको चुनावी भिडन्त

सिराहा । सम्भवत यो जिल्ला नै यस्तो एउटा जिल्ला होला जहाँबाट ७ पूर्वमन्त्रीहरू निर्वाचनको मैदानमा होमिएका छन् । सिराहाको प्रतिनिधिसभाका ४ र प्रदेशका ८ गरी १२ निर्वाचन क्षेत्रमा ७ जना पूर्व मन्त्रीहरु प्रत्यक्षतर्फको प्रतिस्पर्धामा उत्रिएका छन् ।

यहाँ कांग्रेसका प्रदीप गिरीदेखि २०७० को संविधानसभामा प्रचण्डसँग चुनाव लडेर हारेका एमाले नेता लिलानाथ श्रेष्ठसम्मको मनोनयन परेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले सिरहा क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनी ०६४ मा निर्वाचित भएका थिए भने ०७० मा पराजित भएका थिए ।

सिरहा ४ मा राजकिशोरलार्इ अर्का पूर्व मन्त्रीले टक्कर दिँदै छन् । माओवादी केन्द्रका नेता तथा पूर्व कानून मन्त्री अजयशंकर नायकको प्रतिस्पर्धा हुने भएको छ । नायकले पनि सोही क्षेत्रमा बामपन्थी गठबन्धनबाट उम्मेदवारी दिएका छन् ।

त्यसैगरी माओवादी केन्द्रबाटै पूर्व स्वास्थ्य सहायक मन्त्री सुरेशचन्द्र दासले क्षेत्र नम्वर २ को प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । २०४८ देखि पटक-पटक कांग्रेसबाट टिकट पाएर जितेका दास मनोनयनको अघिल्लो दिन माओवादी प्रवेश गरेर टिकट पाएका हुन् । उनी विरूद्ध पूर्व राज्यमन्त्री राजपा नेता शत्रुघन सिंह कोइरी चुनावी मैदानमा छन् ।

सिराहा क्षेत्र नम्वर १ मा पूर्वमन्त्री राजलाल यादवले समाजवादी फोरमबाट मनोनयन दर्ता गरेका छन् । स्थानीय तहको निर्वाचनमा उनी वडा सदस्य जितेका थिए । उनलार्इ सम्भावित जिल्ला समन्वय समितिको सभापतिको रूपमा हेरिएको थियो । तर उनी प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए । यादव पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनको प्रतिस्पर्धा बामपन्थी गठबन्धनबाट एमाले उम्मेदवार गंगाप्रसाद यादव र कांग्रेसका प्रदिप गिरीसँग हुनेछ ।

फोरमबाटै क्षेत्र नम्वर २ मा पूर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री शत्रुघन प्रसाद सिंह कोइरीको मनोनयन परेको छ । उनको प्रतिस्पर्धा वामपन्थी गठबन्धनका शुरेचन्द्र दाससँग हुने छ ।

त्यस्तै पूर्व आपूर्ति मन्त्री विजय कुमार यादवले सिरहा क्षेत्र नं. २ को (क) मा फोरमबाट उम्मेदवारी दिएका छन् । यहाँ प्रचण्डसँग पराजित भएर चर्चामा अाएका एमाले नेता लिलानाथ श्रेष्ठ बामपन्थी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् ।

त्यस्तै पूर्व सामान्य प्रशासनमन्त्री रामकुमार यादवले क्षेत्र नम्वर २ को प्रदेश सभा १ बाट उम्मेदवारी दिएका छन् ।

Loading...