रूपन्देहीको चुनावी प्रतिस्पर्धाः कसको पोल्टामा पर्ला नतिजा ?

रुपन्देही । पाँच नं. प्रदेश अन्तगर्त रूपन्देहीमा हेभिवेट भिडन्त हुँदै छ । सम्भावित प्रदेश राजधानीको रुपमा समेत हेरिएको रूपन्देहीमा पूर्वमन्त्रीहरूदेखि प्रभावशाली नेतासम्म चुनावी मैदानमा छन् ।

स्थानीय तहको निर्वाचनमा बुटवल र देवदह नगरपालिकामा काँग्रेस र माअोवादी केन्द्र मिलेका थिए । अहिले एमाले र काँग्रेस मिलेका छन् । यस्तोमा निर्वाचन माहोल तात्दै छन् । स्थानी बासीहरू चोकचोकमा जम्मा भएर निर्वाचनको मतपरिणाम कस्तो अाउला भन्दै अाकलन गरिरहेका छन् ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका अब्दुल रज्जाक र एमालेका छविलाल विश्वकर्मा दोस्रोपटक भिड्दैछन् । दोस्रो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट रज्जाकले जित हात पारेका थिए । पहिलो संविधानसभा निर्वाचनमा यहाँबाट माअोवादीका घनस्याम यादव विजयी भएका थिए ।

क्षेत्र नम्बर २ मा वाम गठबन्धनका विष्णु पौडेल र नेपाली कांग्रेसका युवराज गिरी प्रतिस्पर्धामा छन् । साविकको ४ नं. क्षेत्रदेखि यसअघिका दुबै निर्वाचमा एमालेका पौडेल विजयी हुँदै अाएका छन् । यहाँ काँग्रेसले नयाँ अनुहार खडा गरेको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट घनश्याम भुसाल र नेपाली कांग्रेससँगको समर्थनमा राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहरा प्रतिस्पर्धामा छन् । साविकको २ बाट विजयी भएका बोहोरा र साविकको ३ बाट झिनो मतले पराजित भएका भुसालबीचको प्रतिस्पर्धालार्इ कडा रूपमा हेरिएको छ ।

हाल साविकको २ को भैरहवा र साविक ३ नं. मिलेर ३ नं. क्षेत्र बनेको छ । साविकको ३ नं. क्षेत्रमा काँग्रेसका वालकृष्ण खाँड विजयी भएका थिए । उनी अहिले समानुपातिकमा छन् ।

रुपन्देही क्षेत्र नम्बर ४ मा वाम गठबन्धनबाट ओमप्रकाश यादव गुल्जारी र राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्ल प्रतिस्पर्धामा छन् । यस साविकका ६ र ७ लार्इ यस निर्वाचन क्षेत्रले समटेको छ । जहाँबाट यी दुबैले एक पटक जित दर्ता गरार्इसकेका छन् ।

गुल्जारी यसअघि फोरमबाट विजयी भएका थिए भने निर्वाचनको मुखमा एमाले प्रवेश गरेका हुन् ।

यता रुपन्देही ५ मा वाम गठबन्धनबाट माअोवादी केन्द्रका डिलाराम आचार्य र नेपाली कांग्रेसबाट भरतकुमार शाह प्रतिस्पर्धामा छन् । २०५४ र २०७० को निर्वाचनमा शाह यस क्षेत्रबाट विजयी भएका छन् । हाल क्षेत्र निर्धारण गर्दा केही क्लस्टर फरक भएका छन् । तर काँग्रेसबाट राज्यमन्त्रीसमेत भइसकेका शाहको प्रतिस्पर्धा माअोवादी केन्द्रका अाचार्यसँग हुँदै छ ।

पहिलो संविधानसभा निर्वाचनमा एमाले विजयी भएको यस क्षेत्रमा माअोवादी झिनो मतले दोस्रो भएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेस विजयी हुँदा माअोवादी तेस्रो भएको थियो ।

अघिल्लो निर्वाचनताकाका निर्वाचन क्षेत्र भत्काएर कतिपय स्थानीय तहलाई तीनवटासम्म निर्वाचन क्षेत्रमा राखेका कारण रुपन्देहीको नतिजाको आँकलन गर्न वडा तहबाटै हिसाब गनुपर्ने हुन्छ। प्रतिनिधि सभाको पाँच र प्रदेश सभाको १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा वडा तहदेखिकै मतको हिसाबकिताब गर्ने हो भने वाम गठबन्धन अघि देखिन्छ ।

जसअनुसार स्थानीय तहको निर्वाचनमा वडाध्यक्षलाई खसेको मतका आधारमा वाम गठबन्धन चार वटा निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ । कांग्रेस गठबन्धन एउटा मात्रै प्रदेशसभा निर्वाचन क्षेत्रमा अगाडि छ भने फोरम–राजपाको गठबन्धन एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा बलियो देखिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ५ हजार मतले अघि रहेको छ ।

कांग्रेस र राप्रपाको तालमेलमा २८ हजार ७ सय मत रहेको छ भने एमाले र माओवादी केन्द्रको गठबन्धनमा ३३ हजार ८ सय मत रहेको छ। यहाँका प्रदेश तर्फका दुवै क्षेत्रमा पनि वाम गठबन्धनको अग्रता छ । प्रदेशको १ नम्बर क्षेत्रमा वाम गठबन्धन झण्डै ३ हजार २ सय मतले अघि छ भने २ नम्बर क्षेत्रमा १ हजार ८ सय मतान्तर रहेको छ ।

यसअघि एमाले उपमहासचिव विष्णु पौडेल विजयी भएको रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेस गठबन्धनभन्दा वाम गठबन्धन झण्डै साढे १३ हजार मतले अगाडि देखिन्छ । कांग्रेस गठबन्धनको २३ हजार ५ सय र वाम गठबन्धनको मत स्थानीय तहको परिणाम अनुसार ३७ हजार २ सय रहेको छ । यहाँ संविधान सभाको दोस्रो निर्वाचनमा पौडेलले कांग्रेस नेता सूर्यप्रसाद प्रधान र माओवादी केन्द्रबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईलाई हराएका थिए ।

यहाँ स्थानीय तहको मत अनुसार प्रदेश तर्फका १ नम्बर क्षेत्रमा झण्डै सात हजारले वाम गठबन्धन अघि देखिएको छ भने २ नम्बर क्षेत्रमा सात हजार ६ सयको मतान्तर रहेको छ । बुटवल उपमहानगरपालिका समेत रहेको यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको तालमेल थियो ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेस गठबन्धनको २६ हजार ९ सय मत रहेको छ भने वाम गठबन्धनको ३१ हजार ५ सय मत रहेको छ। यो क्षेत्रमा ४ हजार ४ सयको मतान्तर देखिएको छ। कांग्रेस नेता बालकृष्ण खाँड र राप्रपाका नेता दिपक बोहराले जितेका दुई क्षेत्रलाई एकीकरण गरी क्षेत्र नम्बर ३ निर्माण भएको छ। यो क्षेत्रमा प्रदेशमा दुई गठबन्धन एक–एक क्षेत्रमा बलिया छन्। १ नम्बर क्षेत्रमा वाम गठबन्धनको बढी मत छ भने २ नम्बर क्षेत्रमा कांग्रेस गठबन्धन झण्डै दुई हजार मतले अगाडि देखिन्छ।

मधेसी समुदायको बाहुल्यता रहेको क्षेत्र नम्बर ४ मा कांग्रेस गठबन्धनको दश हजार एक सय मत रहेको छ भने वाम गठबन्धनको चार हजार सात सय मात्रै मत देखिएको छ । फोरम र राजपाको ११ हजार एक सयबढी मत रहेको छ। कांग्रेसमा विलय भएको फोरम लोकतान्त्रिक ६ हजार सात सय मत रहेको छ ।

तर फोरम लोकतान्त्रिकबाट सम्मरीमाई गाउँपालिका जितेका अध्यक्ष केही दिनअघि मात्रै एमालेमा प्रवेश गरेका छन् । प्रदेश तर्फ कांग्रेस र मधेशी दलहरुको प्रतिस्पर्धात्मक मत रहेको छ । यहाँ वाम गठबन्धन निकै कमजोर छ ।

स्थानीय तहको मत अनुसार क्षेत्र नम्बर ५ मा लोकतान्त्रिक गठबन्धनको १८ हजार १ सय र वाम गठबन्धनको झण्डै २२ हजार मत रहेको छ। राजपाको ७ हजार र फोरमको झण्डै साढे ५ हजार मत रहेको छ।

प्रदेश तर्फ १ नम्बरमा वाम गठबन्धन बलियो छ भने २ नम्बरमा राजपा र फोरमको गठबन्धन बलियो देखिएको छ। यो निर्वाचन क्षेत्रबाट कांग्रेसका भरतकुमार शाह विजयी भएका थिए। मधेसी दलहरु विभिन्न पार्टीमा कार्यकर्ता नै बोकेर हिँडेकाले नजिता फरक देखिने राजनीतिकर्मीहरु बताउँछन्।

Loading...