महन्थ ठाकुर र उपेन्द्र यादवलार्इ काँग्रेसको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले एकतर्फीरुपमा राजपा-फोरम गठबन्धनका दुईजना शीर्षनेताहरुलाई समर्थन गर्ने घोषणा गरेको छ ।

आइतबार कांग्रेसले राजपा अध्यक्ष महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवलाई समर्थनको घोषणा गरेको हो । ठाकुर महोत्तरी ३ र यादव सप्तरी २ मा उम्मेदवार बनेका छन् ।

कांग्रेसले महोत्तरी ३ मा बजरंग नेपाली र सप्तरी २ मा सकलदेव सुतिहारलाई उम्मेदवार बनाएको थियो । ठाकुर र यादवलाई समर्थन गर्दै कांग्रेसले पार्टीका दुबै उम्मेदवारलाई पछि हट्ने निर्णय सुनाएको छ । उम्मेदवारी फिर्ताका लागि आयोगको केन्द्रीय कार्यालयमा नेपाली र सुतिहारका तर्फबाट निवेदन पनि दिइएको थियो । तर, प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन सम्भव भएन ।

निर्धारित समयभन्दा ढीलो निवेदन दिएको र पार्टीको आधिकारिक पत्र समावेश नगरिएकाले औपचारिकरुपमा उम्मेदवारी भने फिर्ता भएन । यसअघि नेपाली कांग्रेसले राजपा र फोरमसँग चुनावी तालमेलकै प्रयास गरेको थियो । तर, यसमा कांग्रेस असफल भयो ।

उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मको समय दिएको थियो । तर, प्राविधिक रुपमा उम्मेदवारी फिर्ता नभए पनि दुबै नेतालाई समर्थन गरिने कांग्रेसले जनाएको छ ।

Loading...