हुम्लामा बाम गठबन्धन विरूद्धका बागी उम्मेदवारले लिएनन् उम्मेदवारी फिर्ता दोधारमा गठबन्धन

हुम्ला । हुम्लामा बाम गठबन्धनका उम्मेदवार विरूद्ध बागी उम्मेदवारी दर्ता गराएका माअोवादी केन्द्रका नेताले उम्मेदवारी फिर्ता लिएनन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका जिल्ला इन्चार्ज छिमिदोर्जे लामा विरुद्ध माओवादीकै पोलिटव्यूरो सदस्य तथा पूर्व राज्यमन्त्रीले छक्क लामाले वागी उम्मेदवारी दिएका छन् ।

वागी उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री लामाले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन समस्यामा परेको हो । यहाँ चुनावी हिसाब किताबमा बाम गठबन्धन अगाडि भए पनि बागीले गठबन्धनलार्इ समस्यामा पारेको छ ।

लामा कलम चुनाव चिन्ह लिएर चुनावी अभियानमा होमिएका छन् । पूर्व राज्यमन्त्री तथा पोलिटव्यूरो सदस्य नै वागी उठेपछि हुम्लामा माओवादीको जिल्ला समिति पनि विभाजित भएको छ । शुक्रबार र शनिबार दुई दिन लगाएर दुई जनाबीच सहमति गराउने प्रयास समेत असफल भएको छ ।

छलफलका क्रममा आधिकारिक उम्मेदवार छिमिदोर्जेलाई वागी उठेका लामालाई समथर्न गर्न प्रस्ताव गरिएको थियो । छक्क लामा पक्षले भने छिमिले स्वतन्त्र उम्मेदवारलाई नै समर्थन गरिसकेको भन्दै प्रचार गरेका छन् ।

गठबन्धनका आधिकारिक उम्मेदवार छिमिले भने आफूले पार्टी छोडेर स्वतन्त्रलाई समर्थन नगरेको बताए । वागीका कारण हार्ने संकेत गर्दै पार्टीको जिल्ला इन्चार्जसमेत रहेका छिमिले आफूले चुनाव जित्न भन्दा पनि पार्टीका लागि पार्टीकै चुनाव चिन्हमा चुनाव लड्ने निर्णय गरेको बताए ।

प्रतिनिधिसभा र एउटा प्रदेश पाएको माओवादी भित्रै विवाद चुलिएपछि गठबन्धमा रहेको एमाले अन्योलमा रहेको छ । स्थानीय तहको मतका आधारमा गठबन्धन कांग्रेस भन्दा धेरै बलियो भए पनि ठूलो जनमत स्वतन्त्रको पक्षमा भएकोले कांग्रेसलाई फाइदा हुने देखिएको छ ।

हुम्लामा प्रतिनिधिसभाका लागि कांग्रेसका मंगलबहादुर शाही उम्मेदवार छन् । प्रदेशसभा -ख) मा कांग्रेसबाट पूर्व मन्त्री जीवनबहादुर शाही उम्मेदवार छन् ।

Loading...