वेलायती महारानी कर छलीमा तानिइन

- एजेन्सी

काठमाडौँ । संसारका शक्तिशाली र धनी व्यक्तिहरूले लुकाएको सम्पत्तिको पर्दाफास भएको छ । ठूलो संख्यामा लिक भएका वित्तीय दस्तावेजबाट संसारका शक्तिशाली व्यक्तिहरूले गोप्य रूपमा ‘ट्याक्स हेभन’ अर्थात् अफसोर कम्पनी भएकामा लगानी गरेको खुलासा भएको हो ।

बेलायती महारानी एलिजाबेथ द्वितीयासहित विश्वका शक्तिशाली नेता यो काण्डमा मुछिने भएका छन् । प्याराडाइज पेपर्स नाममा प्रकाशन भएका यी दस्तावेजमा बेलायती महारानीको पनि निजी सम्पत्तिको विवरण रहेको छ ।

सार्वजनिक भएको दस्तावेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वाणिज्यमन्त्रीको अमेरिकाले प्रतिबन्ध लगाएको रुसी कम्पनीमा सेयर रहेको समेत खुलासा भएको छ । लिक भएको प्याराडाइज पेपर्समा १ करोड ३४ लाख दस्तावेज रहेको र यिनीहरूमध्ये अधिकांश विदेशी लगानी रहेका कम्पनीको भएको बताइएको छ ।

बीबीसीसहित संसारभरका करिब सय सञ्चारमाध्यमले यी दस्तावेजहरूको अनुसन्धान गरिरहेका छन् । गत वर्ष पनामा पेपर्सका यस्तै दस्तावेज जर्मन अखबार ज्युड डोयचेत्साइटुंगले प्राप्त गरेको थियो ।

यी दस्तावेजको इन्टरनेसनल कन्सोर्सियम अफ इन्वेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे) ले जाँच गरेको छ । अब यो साताभरमा सयौं व्यक्ति तथा कम्पनीको कर र वित्तीय अवस्थाको जानकारी सार्वजनिक हुने भएको छ । यिनीहरूमा केहीको बेलायतसँग गहिरो सम्बन्ध रहेको छ । हाल बाहिर आएको दस्तावेज धेरै सानो हिस्सा भएको बताइएको छ ।

यी दस्तावेजहरूमा नेताहरू, बहुराष्ट्रिय कम्पनी, सेलिब्रेटी र हाई प्रोफाइल व्यक्तिले ट्रस्ट, फाउन्डेसन, कागजी कम्पनीका माध्यमबाट कर अधिकारीबाट आफ्नो रकम कसरी लुकाएर राखेका छन् भन्ने उल्लेख छ । जसमा अधिकांश लेनदेनमा कुनै प्रकारको कानुनी गडबडीसमेत नरहेको बताइएको छ ।

यी दस्तावेज जारी गर्ने अन्य मिडियाहरूले आफ्नो क्षेत्रका हिसाबसँग जोडिएका तथ्यहरू प्रकाशित गरेका छन् । द प्याराडाइज पेपर्सबाट बेलायती महारानीको निजी सम्पत्तिमा करिब १ करोड पाउन्ड विदेशमा लगानी गरेको पत्ता लागेको छ । यो लगानीमा कुनै पनि गैरकानुनी नरहेको र कर नतिरेको बारे कुनै संकेतसमेत नरहेको जनाइएको छ । यद्यपि महारानीले विदेशमा लगानी गर्नु जायज हो वा होइन भनेर प्रश्न उठाउन सकिने भएको छ ।

गरिबको शोषण गरेको आरोप लागेको रिटेलर समूह ब्राइटहाउसमा पनि महारानीको केही पैसा लगानी भएको देखिएको छ भने अफ लाइसेन्स फर्म थ्रेसर्समा समेत लगानी रहेको छ । यो कम्पनीले पछि १ करोड ७५ लाख पाउन्डका साथ काम बन्द गरेको थियो । जसका कारण ६ हजारले नोकरी गुमाएका थिए ।

Loading...