यु-१९ एसियाकप क्रिकेटमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशले नेपाललाई २ विकेटले हराएको छ। शनिबार मलेसियामा भएको खेलको अन्तिम ओभरमा १० रन चाहिएको बंगलादेशालाई रोक्न नसक्दा नेपाल पराजित भएको हो।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पार गर्यो। बंगलादेशका लागि ओपनर नइम शेखले सर्वाधिक ५२ रनको योगदान गरे। नेपालका अनिलकुमार साहको बलमा आउट हुनुअघि उनले ८२ बल खेलेर ३ चौका र १ छक्का हिर्काए।

अर्का ओपनर पिनाक घोष २४ रनमा आउट भए। कलमसिंह ऐरीको एलबिडब्लुको धरापमा पर्नुअघि उनले ४० बलमा १ चौका हिर्काए। सइफ हसन १५ रनमा पेभेलियन फर्के। मोहमद रिड्डी १५ रन तथा अमिनुल इस्लाम शून्य रनमा आउट भए। अफिफ हुसेन ३३ रन बनाएर खेलिरहदा ३९ ओभरमा आउट भएपछि खेल नेपालको पक्षमा आएको थियो। त्यहि ओभरमा क्वाजी इस्लाम पनि शून्यमा आउट भए।

बलिङतर्फ सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ विकेट लिए । सन्दीपले दुवै विकेट एलबिडब्लुमार्फत लिन सफल भए। किशोर महतो, दीपेन्द्रसिंह ऐरी र अनिलकुमार साहले १–१ विकेट हात पारे।

मलेसियाको किनरारा ओभलमा टस जितेको बंगलादेशले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ४०।१ ओभरमा ६ विकेट गुमाएर १६७ रन जोड्यो।
प्रकाश केसी नटआउट ४ र कमलसिंह ऐरी नटआउट ६ रहँदा वर्षाले खेल रोकिएको थियो। खेल रोकिएपछि मलेसियालाई ४० ओभरमा १ सय ८१ रनको लक्ष्य दिइयो।

त्यसअघि सुरुवातमा पनि खेल वर्षाका कारण प्रभावित बनेपछि ४३ ओभरमा झारिएको थियो। नेपालका लागि रोहितकुमार पौडेल र भीम सार्कीले उत्कृष्ट ब्याटिङ गरे। भीम र रोहितले पाँचौं विकेटका लागि ७९ रनको साझेदारी गरे। भीमले नेपालका लागि सर्वाधिक ४४ रन जोडे। उनले ४० बलमा २ चौका र ३ छक्का प्रहार गरे। रोहितले आउट हुनुअघि ४० रनको योगदान गरे। उनले ५४ बलमा २ चौका र २ छक्का हिर्काए।

नेपालका ओपनर आसिफ शेख ३० रनमा आउट भए। उनले ५२ बल खेलेर ३ चौका प्रहार गरेका थिए। अर्का ओपरन जितेन्द्रसिंह ६ रनमा आउट भए। उनले १९ बल खेल्दा १ चौका प्रहार गरे। यस्तै, अनिलकुमार साह १९ रन जोडेर आउट भए। उनले २२ बल खेल्दा ३ चौका हिर्काए। कप्तान दीपेन्द्रसिंह ऐरी १२ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा परेका थिए। ऐरीले ४१ बल खेल्दा १ चौका प्रहार गर्न सके।

बलिङतर्फ बंगलादेशका नइम हसनले २ विकेट लिए। हसन मोहम्मद, काजी इस्लाम र अफिफ हुसेनले १–१ विकेट लिए।

नेपालले दोस्रो खेलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारतले यसअघि पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो।

Loading...