सिराहा १ प्रदीप गिरीका चुनौती दुर्इ गठबन्धन

काठमाडौँ । दोस्रो चरणअन्तर्गत आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिरहा–१ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका प्रभावशाली नेता प्रदीप गिरीको उम्मेदवारी रहेको यो क्षेत्रमा एमाले र माओवादी केन्द्र गठबन्धनका तर्फबाट केन्द्रीय सदस्य गंगाप्रसाद यादव र मधेसी गठबन्धनका तर्फबाट संघीय फोरमका केन्द्रीय सदस्य तथा पूर्व बिना विभागीय मन्त्री राजलाल यादव मैदानमा छन् ।

त्रिपक्षीय प्रतिस्पर्धाको आँकलन गरिए पनि स्थानीय तहको परिणाममा वाम गठबन्धन अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनमा सिरहा–१ मा पर्ने लहान नगरपालिका र सखुवा नन्नकारकट्टी गाउँपालिकामा नेकपा एमालेले जितेको छ ।

एमालेले पाएको सो मत र वाम गठबन्धनका कारण एमाले उम्मेदवार यादवको मनोबल उच्च देखिन्छ । तर कांग्रेस वृत्तमा बौद्धिक र सालिन नेताको छवि बनाएका यादवप्रति मतदाताको विश्वास बढ्दै गएका कारण यादवले सोचे जति मत प्राप्त नगर्ने कांग्रेसका स्थानीय नेताहरू बताउँछन् ।

मनोनयन फिर्ता लिने अन्तिम समयसम्म पनि मधेसी मोर्चाका उम्मेदवार यादवले कांग्रेस नेता गिरीलाई समर्थन गर्ने हल्ला चले पनि अन्ततः त्यो सफल भएन । अन्ततः मधेसी गठबन्धनका तर्फबाट राजलाल यादवको उम्मेदवारी परेपछि कांग्रेस र मधेसी गठबन्धन दुवै आफ्नो मतको रक्षा गर्ने रणनीतिमा पुगका छन् ।

सिरहा–१ मा मधेसवादी दलप्रति सहानुभूतिको मत पनि उल्लेख्य रहेका कारण विगतमा मधेसी दलले उठाएको एजेन्डामा जनताले साथ दिएका कारण आफू जित्नेमा ढुक्क देखिन्छन्, मधेसी गठबन्धनका उम्मेदवार यादव भन्दै अाजको राजधानी दैनिकमा सिराहाबाट जागेश्वर यादवले समाचार लेखेका छन् ।

गिरी २०५१ मा तत्कालीन सिरहा–५ बाट विजयी भएका थिए । २०५६ को निर्वाचनमा भने उनी सो क्षेत्रबाट नेकपा एमालेका धर्मनाथ साहसँगपराजित भए ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका गिरी यसपटक क्षेत्र परिर्वतन गरेर प्रतिस्र्धामा छन् । गिरीले आफू मधेसी मुद्दामा सधैं अडिग रहेकाले मधेसीहरूमाझ आफ्नो लोकप्रियता परीक्षणकै लागि उम्मेवारी दिएको बताएका छन् ।

२०६४ को संविधानसभा निर्वाचनमा हालको २ नम्बर क्षेत्रबाट विजयी भएका फोरमका उम्मेदवार यादव २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रामचन्द्र यादवसँग पराजित भए ।

Loading...