बाँदरमुँढे पुगेर विक्रम पाण्डेको आश्वासनः राहत प्याकेज ल्याएर आउने छु

चितवन । माडी बाँदरमुढे घटनास्थलमा लोकतान्त्रिक गठबन्धनले शोकसभा गरेको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, समानुपातिक उम्मेद्वार सहित कांग्रेसका निर्वतमान सांसद सहितको टोली बाँदरमुँढे पुगेको हो ।

शोकसभामा बोल्दै कांग्रेसका निर्वतमान सांसद रामकृष्ण घिमिरेले बाँदरमुढे घटनाका पीडित परिवारलाई विशेष राहत प्याकेज ल्याउन लागिपर्ने बताए । “४ पटक वामपन्थी नेतृत्वको सरकार हुँदा घटनाका पीडितलाई न्याय र राहत दिने काम अधुरो बन्यो”, उनले भने, “अब पनि सधैँ अल्मल्याउने काम गर्नु राम्रो हुँदैन, चुनाव सकिए लगत्तै राहत प्याकेज ल्याउनुपर्छ, त्यसका लागि लोकतान्त्रिक गठबन्धनले विशेष पहल गर्नेछ ।”

उनले बाँदरमुढे लगायतका क्रुर घटना पश्चात माओवादीले हतियार विसाउन बाध्य भएको दावी गरे । “सर्वसाधरणले अनाहकमा ज्यानु गुमाउनुप¥यो, माओवादीलाई विश्वले हेर्ने दृष्टिकोण पनि उबेला फरक बन्यो”, उनले भने, “यस्तै घटनाले माओवादीले हतियार विसाएको हो, तर घटनाका पीडितले न्याय पाउन सकेनन् ।” उनले आतंकवादको पनि क्रुर घटनाका रुपमा बाँदरमुढे घटना रहेको बताए ।

चितवन ३ नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले बाँदरमुढे घटना ज्यादै दुखद घटना भएको बताए । “एम्बुसमा परेको सो बसमा कुनै राजनीतिक दलसँग सम्बन्धित व्यक्ति थिएनन्”, उनले भने, “विना कारण ज्यान गुमाउनुपरेको छ, सँधै झुटा आश्वासन दिएर मल्हम लाग्दैन, सरकारलेनै विशेष राहत प्याकेज ल्याउनुपर्छ ।”

चितवन ३ (ख) का प्रदेशसभा सदस्यका उम्मेद्वार साजनकुमार महतोले घटनाका पीडितलाई न्याय दिलाएर रोजगार, आयआजर्नका कार्यक्रम ल्याउन प्रतिवद्ध रहने बताए । घटनास्थललाई राजनीतिक पर्यटकीय स्थल, बाँदरमुढे खोलामा पुल बनाउने लक्ष्य लिएको समेत उम्मेद्वारहरुले बताए ।

माडीमा लोकतान्त्रिक गठबन्धनका चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गर्ने शिलशिलशिलामा टोली सो स्थानमा पुगेको हो । सो अवसरमा मृतकको सम्झनामा बाँदरमुढे स्मारकमा माल्र्यपण समेत गरिएको थियो ।

२०६२ साल जेठ २३ गते बिहान यात्रुले खचाखच भरिएको बस विद्युतीय धरापमा पर्दा ३९ जनाले बाँदरमुढे खोलामा ज्यान गुमाएका थिए भने ७५ जना घाइते भएका थिए । सो घटनामा तत्कालिन नेकपा माओवादीले ठुलो भूल भएको भन्दै सार्वजनिक माफि समेत मागेको थियो । पहिलोपटक प्रधानमन्त्री भएपछि माडीमा आयोजित पहिलो माडी महोत्सवको उद्घाटनका शिलशिलामा ०६९ फागुन १७ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ माडी पुगेका थिए ।

त्यसपछि माडी पुग्न नसकेका प्रचण्ड सोही क्षेत्र समेटेर बनेको निर्वाचन क्षेत्रका उम्मेदवार बनेपछि कार्तिक १८ गते माडी पुगेका थिए । उनले पीडितसँग प्रत्यक्ष भेटघाट पनि गरेनन् भने सो घटनास्थलसम्म पनि पुगेनन् । पीडितसँग प्रचण्डले ०६३ कार्तिक ३ गते फुलबारीमा भेटेर न्याय दिलाउँछु भनेर प्रतिवद्धता पनि जनाएका थिए । तर, हालसम्म सो घटना गराउने व्यक्तिलाई कारवाही गरिएको छैन ।

 

Loading...