तरकारीमा विचौचिलयाः यस्तो छ चेन, किन महंगिँदै छ तरकारी

काठमाडौँ । किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् ।

मंगलबार धादिङको तरकारी संकलन केन्द्र धार्केमा धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजेलले स्थानिय काउली ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे । उनीसँग ५० रुपैयाँ प्रतिकिलोमा काउली खरिद गर्ने व्यवसायीले आधा घण्टापछि उपभोक्तालाई ९० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे ।

धार्केस्थित तरकारी संकलन केन्द्रका व्यवसायीले काठमाडौंको कालिमाटी तरकारी बजारमा दिनहुँ तरकारी पठाउँछन् । संकलन केन्द्रका व्यापारीले काठमाडौं पठाउने तरकारीको भाउ थाहा पाउँदैनन् । ‘हामीले तरकारी पठाउने हो, भाउ कालिमाटीकै व्यापारीले तोकेर हामीले पाउने भाग पठाइन्छन्’ त्यहाँका एक व्यवसायी भन्छन् ।

केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्यको अनुगमन गर्न पुगेको आपूर्ती व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका कर्मचारीले थोक व्यापारी भेला भई खुद्राका लागि मूल्य तोक्ने गरेको भेटाएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङले आइतबार बैठक डाकेर तरकारीको मूल्य आकासिएको बिषयमा छलफल गरेका थिए । उनले मूल्य अस्वभाविक वृद्धि भएकाले नियन्त्रणका लागि अनुगमन गर्न, दैनिक मुल्यसूचीको रिपार्टटिङ दिन, मूल्य निश्चित तहभन्दा माथी जान थालेपछि सजग हुने प्रणाली विकास गर्न निर्देशन दिएको बताए । ‘एक हप्तासम्म हेरौं, त्यसपछि पनि मूल्य घटेन भने छलफल राख्छु’ उनले भने ।

के गर्दैछन् आपूर्ती मन्त्री ?
कात्तिक पहिलो साताबाट आपूर्ती मन्त्री सम्हालेका राप्रपा नेता जयन्त चन्दले अनुगमन, मूल्य नियन्त्रणका बिषयमा खासै चासो दिएका छैनन् । बरु उनले आयल निगममा अनियमितता आरोप लागेका गोपालबहादुर खड्कालाई कारबाही गर्न कस्सिएका आपूर्ती सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेका छन. ।

कालिमाटीमा तरकारी कम आएको छैन
मंगलबार बिहान ५ बजे कालिमाटीको थोक बजार पुग्दा त्यहाँ सबै प्रकारका तरकारी उपलब्ध थिए । व्यापारीले आ–आफ्नो स्टलमा करिब एउटै भाउ लगाएर तरकारी बिक्रीका लागि राखेका थिए । विभिन्न बजार तथा पसलमा लगेर तरकारी बिक्री गर्ने उदेश्यले खरिद गर्न पुगेका खुद्रा बिक्रेताले भ्यान र मोटरसाइकलमा मनग्ये तरकारी लगेको दृश्य देखिन्थ्यो ।

यस्तो छ मूल्य श्रृङ्खला
१) किसानले आफ्नो बारीमा औषतमा २ महिना लगाएर तरकारी उत्पादन छन् । तरकारी बजारमा पहुँच बिहिन किसानले स्थानिय संकलन केन्द्रले तोकेको दर भाउमा तरकारी बेच्छन् । जुन भाउले किसानको मेहनत पाउँदैनन् । ‘हरेक दिनजसो आँखै अगाडी आफ्नो उत्पादन आधा नाफा खाएर व्यवसायीले विक्रि गर्छन, हेरेर बस्नुको विकल्प छैन । तरकारीको मुल्य पनि व्यापारीले नै निर्धारण गर्छन् । प्रतिबाद गरौं भने तरकारी विक्री हुँदैन, नबेचौं जिविका चल्दैन’ धादिङस्थित धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजल गुनासो गर्छन् ।

२) स्थानिय संकलन केन्द्रले तरकारी बिक्री हुने सहरी क्षेत्रमा प्रतिकिलो १ देखी ५ रुपैयाँ नाफा लिएर पठाउँछन् । गाउँको संकलन केन्द्रले यसका लागि कुनै लगानी गरेका छैनन् । सडकको पेटी वा चोकको छेऊमा त्रिपाल ओछ्याएर तरकारी राखिएको हुन्छ । बेलुका ट्रक आएर तरकारी सोही ठाउँबाट उठाउँछन् । गाउँका संकलन केन्द्रबाट उपभोक्तालाई तरकारी बिक्री गर्ने थोक व्यापारी होइन, विभिन्न बजारमा तरकारी बिक्री गर्ने व्यवसायीसँग सम्पर्क भएका ठूला थोक व्यापारी कहाँ पुग्छ ।

३) काठमाडौं उपत्यकाको हकमा सबैभन्दा धेरै कालिमाटी बजारमा तरकारी आइपुग्छ । ट्रक र कन्टेनरमा आउने तरकारी ठूला थोक व्यापारीले स्टल लिएर बसेका अन्तिम थोक व्यापारीलाई दिन्छन् । ठूला थोक व्यापारीले पनि स्टल राखेका छन् । दुवै व्यापारीको प्रत्यक्ष भेटघाट हुने भएका कारण नाफाको दर आपसी समझदारीमा तय गर्छन् ।

४) कालिमाटीमा स्टल लिएकार केही थोक बिक्रेताले सोझै संकलन केन्द्रबाट तरकारी आपूर्ती पनि गर्ने गरेका छन्, तर यस्ता थोकको संख्या कम छ । अन्तिम थोक बिक्रेताले खुद्रामा बिक्री गर्ने तरकारीको भाउ निर्धारण गर्न भेला बस्छन् । र, तराईका विभिन्न जिल्लादेखी उपत्यका आसपासका जिल्लादेखी ल्याएको तरकारीको परिमाण र ढुवानी लागतसबै हिसाब गरी प्रचुर नाफा राखेर खुद्राका लागि थोक मूल्य गर्छन् ।

५) उपभोक्तालाई तरकारी उपलब्ध गराउने पसले, ढेलागाढा संचालक, साना तरकारी बजारका व्यवसायीलगायत प्रत्येक दिन बिहान कालिमाटीको थोक बजार पुग्छन् । त्यहाँ आलू, प्याज प्रतिबोरा, गोलभेडा प्रति क्यारेट र अन्य तरकारी ढक (प्रति पाँच किलो) मा बिक्री हुन्छन् । त्यहाँबाट खरिद गर्नेले उपभोक्तालाई आफैले निर्धारण गरेको भाऊमा बिक्री गर्छन् ।

६) खुद्रा पसलेकहाँ पुगेर दिनुहँ बार्गिनिङ गरी तरकारी खरिद गर्नु उपभोक्ताको नियति बनेको छ ।

Loading...