सहयोद्धा कामरेडको चुनावी भिडन्त

काठमाडौँ । तनहुँको तुरतुरेबाट पूर्व मर्स्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ । यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ । प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन् ।

बिजुलीका पोल र रूखका हांँगामा छपक्कै सूर्य र गोलाकारभित्र हँसिया–हथौडा, आंँखा र रूख चिह्न अंकित झन्डा फहराइरहेका छन् । ओहोरदोहोर गर्ने गाडीबाट चुनावी गीत गुन्जिन्छन् ।

ठूला रूखका छहारी र बिसौनीमा सर्वसाधारणको झुरुप्प जमघट भेटिन्छ । ती जमघटहरूमा दुई पात्रको चर्चा सुनिन्छ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ।

विगतमा एकै पार्टी माओवादीका सहयोद्धा यी दुई नेता गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसको समर्थन प्राप्त नयाँ शक्तिका भट्टराई र वाम गठबन्धनका उम्मेदवार श्रेष्ठबीचको प्रतिस्पर्धाले जसरी राष्ट्रिय ध्यान केन्द्रित गरेको छ, त्योभन्दा बढी स्थानीय माहोल तताएको देखिन्छ ।

दुई सहयोद्धा मात्र होइन, वामपन्थी र लोकतान्त्रिक गठबन्धनले नै यो क्षेत्रको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । वामपन्थी गठबन्धनले देशव्यापी चुनावी सभाको सुरुवात नै गोरखाबाट गर्दैछ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल श्रेष्ठको पक्षमा माहोल सिर्जना गर्न बुधबार गोरखा आउँदैछन् ।, यो खबर आजकोकान्तिपुरमा छ ।

कहाँ कसको पकड ?

गोरखा २ मा पालुङटार नगरपालिका र गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा तथा सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिका पर्छन्। यीमध्ये पालुङटारको ६ देखि १४ नम्बर वडा र सुलिकोट गाउँपालिका वामपन्थी गठबन्धनको बलियो क्षेत्र हो। त्यस्तै, पालुङटारको १ देखि ५ नम्बर वडा, अजिरकोट, सिरानचोक र गोरखा नगरपालिकाका ८ देखि १४ नम्बर वडा नयाँ शक्ति र कांग्रेसको पकड क्षेत्र हो। स्थानीय तहको यो क्षेत्रको मतपरिणाम जोड्ने हो भने वामपन्थी गठबन्धन १ सय ३८ मतले मात्र अगाडि छ। स्थानीय चुनावपछि यहाँ करिब १० हजार मतदाता थपिएका छन्। थपिएको मत कता बढी जान्छ, त्यसले परिणाम निर्धारण गर्ने देखिन्छ। व्यक्तित्व र राजनीतिक भूमिकाको विषयसमेत जोडिएकाले स्थानीय तहकै शैलीमा मत खस्ने आधार छैन।

गठबन्धनभित्र देखिएका झिनामसिना असन्तुष्टिले पनि केही प्रभाव पार्न सक्छ। जनयुद्धका क्रममा माओवादी पक्षबाट पीडित कांग्रेसका केही व्यक्तिले बाबुरामलाई समर्थन गरेको मन पराएका छैनन्। माओवादी आन्दोलनमै सहभागी नभएको र पदमा हुँदा पनि जिल्लालाई नहरेको भन्ने जनमतले श्रेष्ठलाई पनि केही प्रभाव पार्न सक्छ। चुनावपछिको सम्भावित राजनीतिक घटनाक्रममा कसको प्रभाव के हुने भन्ने आकलन गर्ने केही प्रबुद्ध मतदाता पनि छन्।

‘पहिले बाबुरामजीका पछाडि ठूलो पार्टी थियो र उहाँ प्रधानमन्त्रीसमेत हुनुभयो, अहिले उहाँको पार्टी सरकार बनाउन सक्ने हैसियतको ठूलो छैन,’ स्थानीय मतदाता विष्णु रेग्मीले भने, ‘चुनाव जितेर गए पनि अब भट्टराईजीको हालत चित्रबहादुर केसी वा नारायणमान बिजुक्छे जस्तो हुन सक्छ।’ उता श्रेष्ठका पछाडि ठूलो संगठन रहे पनि एमालेसँग पार्टी एकीकरणको प्रक्रियामा जाँदा श्रेष्ठको अहिलेकै जस्तो राजनीतिक प्रभाव बाँकी रहन्छ कि रहँदैन भन्ने शंका गर्ने पनि छन्। यही स्थितिको रोचक प्रतिस्पर्धाले गोरखाका अन्य क्षेत्रको र प्रदेशसभाका चुनावका उम्मेदवारको प्रचार नै छायामा परेको छ। भट्टराई र श्रेष्ठकै सम्भावित परिणाम आकलनमा गोरखा व्यस्त छ।

Loading...