देश विकासका लागि निर्यातमुखी अर्थतन्त्रः पूर्वअर्थमन्त्री पाण्डे

चितवन । पूर्व अर्थमन्त्री एवंम् चितवन क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्यका उम्मेद्वार सुरेन्द्र पाण्डेले देशको विकास गर्न अब निर्यातमुखी नीति लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आयात प्रतिस्थापन नभई निर्यातमुखी निती लिएर गएमात्रै देश विकास हुने उहाँको दाबी थियो ।

पूर्वी चितवनमा आज आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपालमा धेरै कच्चापदार्थ रहेकोले त्यसको प्रयोग गर्दै उत्पादित वस्तुलाई छिमेकी देशहरुमा बेच्न सकिने बताउनुभयो । उहाँले स्थानीयदेखी राष्ट्रियस्तरमा पार्न सक्ने प्रभावसहितको योजना समेत सार्वजनिक गर्नुभएको थियो । चितवनको टाँडीबाट शक्तिखोर हुँदै हुग्दी र भण्डाराबाट मलेखु जोड्ने सडकलाई पूर्णता दिनुका साथै खानेपानी, तटबन्ध, पोल्ट्रीको विकाससहित चितवनलाई मूख्य शहरका रुपमा विकास गर्ने योजना पाण्डेले अघि सार्नुभएको छ ।

आर्थिक समृद्धिका लागि इमान्दार सरकार र मिहनेती जनता हुनुपर्ने उहाँले औल्याउनुभयो । देश समृद्धिका लागि ठूला परियोजना संचालन, पूर्वाधार विकास, विद्युत उत्पादन, मेजर सिटी निर्माण, प्राविधिक शिक्षामा लगानी, युवालाई उद्यमी बनाउनु पर्ने उहाँको योजना छ । यी सबै काम गर्न सरकार, निजी, क्षेत्र, वैदेशिक लगानी, विदेशमा रहेका नेपालीबाट सम्भव रहेको पाण्डेले बताउनुभयो ।

पूर्वी चितवनमा रहेका खोलानालामा तटबन्ध नगरे रत्ननगर र खैरहनी असुरक्षित हुने भएकाले यसको समाधानका लागि दिगो तटबन्ध आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

Loading...