संविधानसभाको जगमा कहिल्यै पनि कम्यूनिज्म आउँदैनः काँग्रेस नेता खाँण

६० प्रतिशत उम्मेदवार उठाउने पार्टीको कसरी आँउछ बहुमत ?

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले संविधानसभाको जगमा कम्युनिज्म नआउने बताएका छन् । उनले नेता खाँणले यो निर्वाचनलाई नेपाली कांग्रेसले जनमत संग्रहको रुपमा लिएको पनि बताए ।

“नेपाली जनताको ७० बर्षको संघर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा समावेशिता सहितको संघीयता, लोकतन्त्र,गणतन्त्रलाई संस्थागत गर्ने संविधान आएको छ । नेपाली कांग्रेस यसमा भएको कमी कमजोरी सुधार गरेर राजनीतिक स्थायित्व कायम गर्दै शान्तिपूर्ण वातावरणमा आर्थिक विकास र समृद्धितर्फ जान चाहन्छ” नेता खाँणले भने, “उनीहरु यो संविधानलाई फालेर कम्युनिष्ट शासन ल्याउने सपना बाँडिरहेका छन । दुनियाँमा कहिं पनि संविधानसभाको जगमा कम्युनिष्ट शासन आएको छैन, नेपालमा पनि त्यो संभव छैन् ।”

“कम्युनिष्ट पार्टीहरुको गठबन्धन घोषणाका दिन मुठ्ठी उठाएर दुई तिहाई मतको दुहाई दिने नेताहरु अहिले बहुमतको कुरा गर्दैछन् तर उनीहरुको बहुमत पनि आउनेवाला छैन्” नेता खाँणले भने । यो निर्वाचनमा कम्युनिष्ट गठबन्धनको विरुद्धमा नेपाली कांग्रेस एकजुट भएको उल्लेख गर्दै उनले निर्वाचन परिचालनलाई पनि सुब्यवस्थित गरिएको बताए ।

नेता खाँणले कम्युनिष्ट नेताहरुले असंगतिपूर्ण अभिव्यक्ति दिएको आरोपसमेत लगाए । “उहाँहरुका अभिव्यक्तिले उहाँहरुकै परम्परागत मतदाता पनि दिग्भ्रमित भएका छन् । चुनाव ५ वर्षका लागि भैरहेको छ , उहाँहरु यसपटक जनादेश लिएर ५० वर्ष शासन गर्ने कुरा गरिरहनु भएको छ ।”

नेता खाँणले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले सहज बहुमत ल्याउने समेत दाबी गरे । “नेपाली कांग्रेसको घोषणापत्रका आर्थिक पक्ष”का बारेमा अर्थ विज्ञ र सञ्चारकर्मीहरुको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले २०४८ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसले खसेको मतको ३८ प्रतिशत प्राप्त गरेको र २०५६ सालको निर्वाचनमा ३७ प्रतिशत मत प्राप्त गरेको उल्लेख गर्दै भने, “गत स्थानीय निर्वाचनमा हामीले झण्डै ३३ प्रतिशत(३२दशमलव ८ प्रतिशत) मत हासिल गरेका छौ, यो निर्वाचनमा हाम्रो निकै राम्रो सुधार भएको छ । हामीले ४० प्रतिशतको हाराहारीमा मत पाउने स्थिति छ । त्यसैले यो निर्वाचनमा नेपाली कांग्रेसको विजय सुनिश्चित छ ।”

उनले यो निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ सीट मध्ये १ सय ५३ मा आफ्ना उम्मेदवार उठाएको र प्रदेश सभाका ३ सय ३० मध्ये ३ सय २० सीटमा आफ्ना उम्मेदवार उठाएको बताउदै प्रतिप्रश्न गरे, “जुन पार्टीहरुले जम्मा ६० प्रतिशत र ४० प्रतिशत सीटमा उम्मेदवारी दिएका छन्, तिनले कसरी बहुमत ल्याउन सक्छन ?”

बुढी गण्डकीलाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा लैजाने
कार्यक्रममा नेता खाँणले हालै सरकारले रद्द गरेको बुढी गण्डकीको समझदारीका बारेमा पनि स्पष्ट पारे ।
“क्याबिनेटमा परिपक्व रुपमा प्रस्ताव लैजाने विधि छ । संबन्धित विभागबाट उठान भएर मन्त्रालयले स्वामित्व लिएपछि कानून मन्त्रालयको राय लिएर कार्यविधि सहित विभागीय सचिवले टिप्पणी र राय पेश गरेपछि विभागीय मन्त्रीले क्याबिनेटमा लैजाने हो ” तीन पटक मन्त्री भैसकेका नेता खाँणले भने, “तर बुढी गण्डकीको प्रस्ताव त मन्त्रीले ठाडै ल्याउनुभयो, सचिवको हस्ताक्षर पनि छैन, मन्त्रीहरुले अध्ययन पनि गर्न पाएका छैनन् । निर्णय भइ प्रक्रिया मिलाएर ल्याउने सहमति भएपछि प्रधानमन्त्री र विभागीय मन्त्रीले क्याबिनेटको निर्णयमा घुसाइदिनुभएछ ।”

नेता खाँणले यस विषयमा संसदको सार्वजनिक लेखा समिति, अर्थ समिति र कृषि तथा जलस्रोत समितिले रद्द गर्ने निर्देशन दिएपछि सरकारले समझदारी रद्द गरेको दावी गर्दै भने, “कुनै पनि सरकारले अघिल्लो सरकारले गरेको अनियमित काम छ भने त्यसलाई बोकेर हिड्छ कि सच्याउछ ?” नेता खाँणले अब सरकारले सो आयोजना ग्लोबल टेण्डरमा लगेर योग्य कम्पनीलाई निर्माणको जिम्मा दिने प्रबन्ध मिलाउने पनि जानकारी दिए ।

Loading...