अोलीलार्इ देउवाको प्रश्नः मैले बम पड्काएको हो र ?

काठमाडौं । उम्मेदवारको सुरक्षालाई लिएर विपक्षीले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भने मैले बम पड्काएको हो र ? भन्ने प्रश्न गरेका छन् ।

पछिल्लो समय कांग्रेस तथा वाम गठबन्धनका उम्मेदवारलाई लिएर बम विस्फोटका घटना भइरहेको छ । सुरुमा आफ्ना उम्मेदवारहरुलाई मात्र लक्षित गरी आक्रमण भएको भन्दै वाम गठबन्धनका नेताहरुले सरकार र विप्लव समूहको साठगाँठ रहेको बताएको थिए ।

एमाले अध्यक्ष केपी ओलीले हालै मात्र प्रधानमनन्त्रीले भएको गृहमन्त्रीलाई विना विभागीय बनाएको र बम पडि्करहँदा पनि मन्त्री नियुक्त नगरेको बताएका थिए ।

बुधबार आफ्नै निवास बालुवाटारमा पत्रकार महासंघको टोलीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले ओलीको आलोचनाप्रति संकेत गर्दै भने, ‘बम मैले पड्काएको हो र ? उनले उम्मेदवारलाई लक्षित गरी भइरहेको विस्फोट लगायतका गतिविधि बन्द गर्न पनि आग्रह गरे ।

उनले आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनाव कुनै हालतमा नसर्ने भन्दै ओलीले झुटो प्रचार गरेको बताए । उनले भने, ‘ओलीजीले गैरजिम्मेवार अभिव्यक्ति दिनु भएको छ ।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीले बारम्बार आफुलाई निर्वाचन सार्न लागेको भनेर आफुमाथि भ्रमको खेती गरिरहेको भन्दै त्यस्तो भ्रमका पछि नलाग्न आव्हान गरे । उनले जस्तोसुकै हालतमा पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने पक्षमा आफु रहेको पनि प्रष्ट पारे ।

एमाले अध्यक्ष केपी ओलीको नाम लिदै प्रधानमन्त्री देउवाले ‘केपी ओलीजीले निर्वाचन सार्न लागेको भनेर पटक पटक भन्दै आउनुभएको छ । उहाँले विनाआधार किन त्यस्तो कुरा गर्नुहुन्छ मलाइ थाहा छैन ? उहाँले त मतदान सकिएपछि पनि निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ भनेर भन्न बेर लाउनुहुन्न ।’

निर्वाचन सम्पन्न गर्न आफु अहोरात्र लागिरहेको भन्दै प्रधानमन्त्री देउवाले निर्वाचनको सवै तयारी पनि भइसकेकाले अव निर्वाचन सर्ला कि भनेर आशंका नगर्न आग्रह गरे । भेटमा महासंघको टोलीले राज्यले नियन्त्रणमा लिएका ८ जना पत्रकारहरुलाई विनाशर्त रिहाइ गर्न माग गरेको छ । जवाफमा गृहमन्त्री समेत प्रधानमन्त्री देउवाले पत्रकार नियन्त्रणमा लिएकोबारे आफुलाई थाहा नै नभएको भन्दै त्यसवारे बुझ्ने बताए । महासंघका अध्यक्ष गोविन्द आचार्यको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार अपरान्ह बालुवाटार पुगेको थियो ।

Loading...