इजिप्टको मस्जिदमा अातंकवादी हमला २३५ जनाको मृत्यु

इजिप्ट । र्इजिप्टको मस्जिदमा भएको आतंकवादी आक्रमणमा २ सय ३५ जना सर्वसाधारणको ज्यान गएको छ । सर्वसाधरणको हत्या पछि इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीले यसको कडा जवाफ फर्काउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार सिनाई प्रान्तको उत्तरी भागमा रहेको एक मस्जिदमा आतंकवादी हमलामा भएको थियो । वीर अल–अवेद सहरमा रहेको अल–रावडा मस्जिदमा शुरुमा बम विस्फोट गराइएको थियो भने विस्फोटपछि भाग्ने क्रममा सर्वसाधारणमा अन्धधुन्द गोली प्रहार गरिएको थियो ।

बीबीसीका अनुसार, चारवटा अफ रोड सवारीमा आएका हतियारधारीहरुले प्रार्थाना गरिरहेकाहरुमाथि गोली प्रहार गरेका थिए । यद्यपि, यो आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । अन्तर्राष्ट्रिय समुदायहरुले आक्रमणको घोर निन्दा गरेका छन् ।

इजिप्ट सन् २०१३ यता इस्लामिक उग्रबादीहरुसँग संघर्ष गर्दै आएको छ । सर्वसाधारणलाई लक्षित गरी यहाँ दिनहूँजस्तो बम विष्फोट र गोलीकाण्ड हुने गरेको छ ।

यता, इजिप्टको सेनाले जवाफी कारवाही स्वरुप आतंकवादीहरुको अखाडामा हवाई आक्रमण गरेको जनाएको छ । अहिलेसम्म कुनै पनि समूहले यस घटनाको जिम्मेवारी लिएको छैन ।

इजिप्टमा भएको यो अहिलेसम्मकै ठूलो आतंकवादी हमला हो । इजिप्टका सुरक्षाकर्मीले लामो समयदेखि सिनाई प्रान्तमा चरमपन्थीविरुद्ध कारवाही चलाइरहेको छ । त्यस क्षेत्रमा इस्लामिक स्टेट (आइएस) सँग आबद्ध चरमपन्थीहरुले समय–समयमा यस्ता घटना घटाउने गरेका छन् ।

‘जे भइरहेको छ, त्यो हाम्रो आतंकवाद विरुद्धको लडाईं रोक्न लक्षित छ,’ सिसीले टेलिभिजनमा सम्बोधन गर्दै भने, ‘हाम्रो सशस्त्र बल र प्रहरीले हाम्रा शहीदहरुको बदला लिनेछन् र सुरक्षा र स्थायित्व कायम गर्नेछन् ।’

लगत्तै, सेनाका प्रवक्ताले प्रतिक्रियास्वरुप आतंकवादीको अखडा र हतियार भण्डारमा हवाई कारवाही गरेको जानकारी दिए । घटनापछि तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।

गाडीमा सवार भएर दर्जनौँको संख्यामा आतंकवादीहरुले मस्जिदलाई घेरेका थिए । त्यसपछि बम विस्फोट गराएर भाग्न खोज्ने सर्वसाधारणमाथि अन्धाधुन्ध गोली बर्साएका थिए । आक्रमणकारीले पार्किङमा राखिएका गाडीलाई आगो लगाउनका साथै एम्बुलेन्सहरुमाथि पनि आक्रमण गरेका थिए ।

घटनामा १ सयभन्दा बढी घाइते भएका छन् । वीर अल–अवेद राजधानी कायरोबाट २११ किलोमिटर टाढा रहेको छ ।

Loading...