सिन्धुपाल्चोकमा मतपेटिका सुरक्षाका लागि सीसी क्यामेरा, ३ हजार ७०० सुरक्षाकर्मी परिचालन

सिन्धुपाल्चोक । अाइतबार हुने निर्वाचनलार्इ केन्द्रीत गरी सिन्धुपाल्चोक जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतपेटिकाको सुरक्षाका लागि भण्डारण कक्षमा सीसी क्यामेरा फिट गरेर बाहिरै डिस्प्ले हुने प्रबन्ध मिलाइएको छ ।

आइतबार बिहानदेखि सिन्धुपाल्चोकका १४४ मतदान स्थल र २८५ मतदान केन्द्रहरुमा मतदान हुनेछ । जिल्लामा रहेका दुईवटा निर्वाचन क्षेत्रमा २ लाख २६ हजार ५ सय ४० मतदाता छन् ।

सिन्धुपाल्चोकबाट प्रतिनिजधिसभाका दुई सीटमा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय अध्यक्ष पशुपतिसमशेर राणा, एमालेका युवा नेता शेरबहादुर तामाङ, माओवादी नेता अग्नि सापकोटा र बहालवाला मन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचनका लागि सबै कर्मचारीहरु सम्बन्धित मतदानस्थलमा पुगेर सबै काम सम्पन्न गरेको सिन्धुपाल्चोकका मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए ।

चारवटै प्रदेशसभामा दुईजना उप-सचिवको नेतृत्वमा जिल्लाबाट उच्चस्तरीय टीम खटाइएको खनालले जानकारी दिए ।

मतदान सम्पन्न भएसँगै आइतबार राति नै सबै मतपेटिका सदरमुकाम चौताराको भण्डारण कक्षमा ल्याइने तयारी निर्वाचन कार्यालयले गरेको छ । सदरमुकाम चौतारामा रहेको कृषि विकास कार्यालयको भवनमा मतपेटिका राखिनेछ ।

मतदानस्थलबाट तीनवटा सुरक्षा घेराभित्र राखेर मतपेटिकाहरु सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

चारै प्रदेशका छुट्टाछुट्टै कोठामा मतपेटिकाहरु राखिने छन् । र, त्यहाँ सीसी क्यामेराको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत खनालले जानकारी दिए । यसरी जोडिएका सीसीटीभीको डिस्प्ले सबैले देख्ने गरी बाहिर राखिएको छ ।

सुरक्षालार्इ ध्यानमा राखि जिल्लामा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनासहित ३ हजार ७ सय सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गरिएको छ । जिल्लाका २५ स्थानमा सशस्त्र प्रहरीको विशेष टोलीको मोबाइल गस्तीमा खटाइएको छ भने १३९ स्थानमा नेपाली सेनाको मोबाइल टोलीमार्फत सुरक्षाको प्रबन्ध मिलाइएको प्रजिअ तामाङले बताए ।

प्रत्येक गाउँपालिकामा दुईजना डीएसपीको कमाण्डमा मोबाइल टोली तैनाथ गरिएको छ । त्यस्तै एक नगरपालिकामा तीनजना डीएसपीको कमाण्डमा मोबाइल टोली परिचालन गरिएको छ ।

सिन्धुपाल्चोकमा २० जना भन्दा बढी डीएसपीहरुको टोली निर्वाचनका लागि खटिएका छन् । डीएसपीको कमाण्डमा ५० जनाको विशेष कमाण्डो टोलीसमेत परिचालन भएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

नेपाली सेना तेस्रो सुरक्षा घेरामा रहने भए पनि भौगोलिक विकटता भएको स्थानमा भने नेपाली सेनाको टोली नै अग्रभागमा समेत खटिने प्रजिअ तामाङले बताए ।

Loading...