अाचार संहिता उल्लंघनमा राज्य र काँग्रेस अगाडिः प्रतिवेदन

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्वाचन आचारसंहिताको उल्लंघन सरकारबाटै भएको जनाएको छ । इन्सेकले आईतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण निर्वाचनको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन निर्वाचन आयोगमा बुझाउँदै आचारसंहिताको उल्लंघन सरकारबाटै भएको जनाएको हो ।

आइतबार साँझ आयोगको काठमाडौंस्थित कार्यालयमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आयोगका सचिव बोगेन्द्रराज शर्मा पौड्याललाई बुझाएको प्रतिवेदनमा राज्य पक्षबाट उल्लंघनका १०४ घटना भएको उल्लेख गरिएको छ ।

यसैगरी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनबाट ३९, राज्यपक्षबाट गिरफ्तारी ५७ एवं कुटपिटसहित दुईसहित १६३, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबाट १७, नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट १ सय २२, राष्ट्रिय जनता पार्टी नेपालबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११, स्वतन्त्र उम्मेदवारबाट दुई र अज्ञात समूहबाट ६६ वटा निर्वाचन आचारसंहिताको उल्लंघनका घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

आचारसंहिता लागू भएपछि मन्त्रिपरिषदले आचारसंहिताविपरीत निर्णयहरू गरेको छ । आचारसंहिता जारी भएपछि दरबन्दी थप वा सिर्जना गर्न नपाइने भनिए पनि सरकारले त्यसविपरीत ११ वटा निर्णयहरू गरेको छ । सरकारले १० पटक बढुवा÷पदोन्नति, आठपटक सरुवा र सातपटक नयाँ नियुक्ति गरेको छ ।

सरकारी पद धारण गरेका पदाधिकारीहरूले आफ्नो पार्टीको पक्षमा मत मागेको घटना संख्या ५ छ भने आर्थिक क्रियाकलाप तथा सरकारी ढुकुटीबाट सहयोग गरेर आचारसंहिता उल्लंघन गरेको घटनाको संख्या ७ रहेको छ ।

सरकारले कात्तिक २८ गते नेपाल प्रहरीका उच्च अधिकारीहरूको सरुवा ग¥यो । प्रदेश ५ का प्रहरी प्रमुख एआईजी मिङ्मार लामा र ७ का प्रहरी प्रमुख एआईजी विजय भट्टलाई सरुवा गर्नुका साथै मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ, हेमन्तबहादुर पाल र माधव नेपाललाई एआईजीमा बढुवा ग¥यो ।

यसैगरी, निर्वाचन पर्यवेक्षण समितिले केही समयपहिले भएको स्थानीय तहको निर्वाचनको तुलनामा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।

समितिका अध्यक्ष प्रदीप पोखरेलले निर्वाचनमा आमजनताको उत्साहप्रद सहभागिता रहेको जनाएका छन् ।विभिन्न स्थानमा भएका झडपलाई सुरक्षा निकायको उपस्थितिमा सहजै व्ययवस्थापन गरेको जनाउँदै उनले स्थानीय तहको निर्वाचनभन्दा आइतबारको निर्वाचन सहज भएको जनाएका छन् ।

यसैगरी, राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक) ले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको छ । नियोकका महासचिव डा. गोपाल कृष्ण सिवाकोटीले नियोकले जम्मा १ हजार ३९ पर्यवेक्षक परिचालन गरी विभिन्न मतदान केन्द्रको पर्यवेक्षण गरेको र निर्वाचन ऐतिहासिक रूपमै सम्पन्न भएको जनाएका छन् ।

Loading...