सवा लाख भूकम्प पीडितले पाएनन् पहिलो किस्ता

काठमाडौँ । झन्डै सवा लाख भूकम्पपीडित परिवारले पुनर्निर्माण अनुदानको पहिलो किस्ता रकम पाउन सकेका छैनन् । प्राधिकरणमा भइरहेको राजनीतिकरण, कर्मचारीको असहयोग, सरकारी निकायहरूबीचको समन्वय अभावलगायत कारणले अनुदान पाउनुपर्ने लाभग्राहीमध्ये करिब १६ प्रतिशतले पहिलो किस्ताको रकम नै पाउन नसकेका हुन् ।

भूकम्पपीडितका लागि सरकारले नै तोकेको कार्यतालिकाभित्र १ लाख २५ हजार परिवारले पहिलो किस्ताको अनुदान रकम पाउन नसकेका हुन् । असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले ‘पहिचान भएका सबै लाभग्राहीहरूले आगामी कात्तिक मसान्तभित्र अनुदान सम्झौता गरी प्रथम किस्ता लिइसक्नुपर्ने,’ निर्णय गरेको थियो ।

प्राधिकरणको तथ्यांकअनुसार ७ लाख ६७ हजार ७ सय ५ परिवारले भूकम्पपीडित अनुदानको किस्ता पाउनुपर्ने हो । यसमध्ये ६ लाख ५९ हजार ५ सय ६ परिवारसँग पहिलो किस्ता रकम वितरणका लागि सरकारसँग सम्झौता भएको छ । यसमध्ये ६ लाख ४२ हजार १ सय ८१ परिवारले मात्रै पहिलो किस्ताको ५० हजार रुपैयाँ रकम पाएका हुन् ।

बस्ती स्थानान्तरण, लाभग्राही सूचीमा दोहोरो नाम परेको र कतिपय पीडितले घर नै बनाउन नचाहेर बसेका कारण केही प्रतिशतले पहिलो किस्ता नलिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए ।
‘जम्मा लाभग्राहीमध्ये करिब ५ लाखले पूरै किस्ता लिई घर बनाउनेछन् भन्ने हाम्रो अनुमान हो,’ उनले भने, ‘बाँकी लाभग्राही उनीहरूकै कारणले घर नबनाउने हुन् । तसर्थ कार्यतालिकाअनुसार नै हाम्रो लक्ष्यअनुसार पीडितहरूले पहिलो किस्ता पाइसकेका छन् ।’

घर बनाउन चाहेका तर पहिलो किस्ता वितरणमा कुनै प्राविधिक कारणले छुट भएमा दोस्रो र तेस्रो किस्ता वितरणका लागि तोकेको कार्यतालिकाभित्र लक्ष्य पूरा हुने उनको दाबी छ । ‘ढुंगा, गिट्टी बालुवा, काठ, नक्सासम्बन्धी समस्या, डकर्मी तालिम, इन्जिनियरहरूको समस्याबारे समाधान भइसकेको छ,’ उनले भने, ‘दोस्रो र तेस्रो किस्ता रकम वितरण गरिसक्ने कार्यतालिकाभित्र लक्ष्य पूरा हुनेछ ।’

निर्देशक समितिको तत्कालीन निर्णयअनुसार लाभग्राहीले ०७५ असार मसान्तभित्र निजी आवास पुनर्निर्माणसम्बन्धी सम्पूर्ण अनुदान लिइसक्नुपर्नेछ । यो निर्णय भूकम्प प्रभावित ३१ जिल्लामै लागू हुने हो ।

‘०७३ पुस मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका निजी घरधनीले २०७४ पुस मसान्तसम्म र आगामी कात्तिक मसान्तभित्र प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी चैत मसान्तभित्रै दोस्रो किस्ता लिइसक्नुपर्नेछ,’ तत्कालीन निर्णयमा भनिएको छ, ‘०७४ पुस मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्नेछ । ०७४ चैत मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ असार मसान्तसम्म अन्तिम अर्थात् तेस्रो किस्ता लिइसक्नुपर्ने गरी समय अवधि निर्धारण गरेको हो ।’ तर, यो समय सीमा निर्धारण गरेको पहिलो किस्ताको समयमा प्रगति हासिल हुन नसकेको अाजको कान्तिपुर दैनिकमा समाचार छ ।

Loading...