पैसा बाँडेर भोट किन्नु भन्दा विकास गरेर जनताको मन जितेर मत लिनुपर्नः मन्त्री पाण्डे


चितवन। वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले निर्वाचनको समयमा पैसा बाँडेर भोट किन्नु भन्दा विकास गरेर जनताको मन जितेर मत लिनुपर्ने बताउनु भएको छ । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनु भएका पाण्डेले जिल्लाको माडीमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जनताले विकासप्रेमी नेतृत्व छान्ने बताउनुभयो ।
विगतमा कुन नेताले के काम ग¥यो भन्ने कुरा जनताले प्रष्ट देखेको बताउँदै उहाँले भन्नुभयो “जसले जनताको काम गरेको छ, उसैलाई जनताले रोज्छन् ।” २०७० सालको निर्वाचन जितेपछि आफू यस क्षेत्रको विकासमा लागिपरेको बताउँदै मन्त्री पाण्डेले आफूले विगतमा गरेका कामहरुले नै भावि दिनमा पनि काम गर्न सक्छ भन्ने जनताले बुझेको बताउनुभयो ।

आफूले भाषण र झुटा आश्वासन दिन नजानेको बताउँदै उहाँले जनताका दुःख र पीरमर्का बुझ्न जानेको बताउनुभयो ।आफूसँगै चुनावी प्रतिस्पर्धामा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै उहाँले एकै पटक दोस्रो पटक चुनाव लडेर देखाउन दाहाललाई चुनौती दिनुभयो । एक प्रश्नमा उहाँले दाहालले मत किनेर निर्वाचन जित्ने सपना देखेको आरोप लगाउँदै यहाँका जनता पैसामा खरिद बिक्री नहुने बताउनुभयो ।
बाहिरबाट मान्छे ल्याएर सभा गर्दैमा यहाँका जनताले मतदान नगर्ने बताउँदै पाण्डेले आफू सभा गर्न छाडेर जनताको घरदैलोमा पुग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “म यो क्षेत्रको प्रत्येक मतदाताको घरघरमा पुगेको छ, यहाँका जनताका समस्या मैले बुझेको छु ।” चोक चोकमा कोणसभा गर्दैमा जनताका समस्या बुझ्न नसकिने उहाँको भनाई थियो ।
अर्काे एक प्रश्नमा उहाँले भरतपुर महानगरको निर्वाचनमा तड्पिएको एमाले, त्यसबेला माओवादीलाई सघाएर धोका खाएको कांग्रेस र बाँदरमुढे लगायतका द्वन्द्वका पीडितहरुको साथले आफूले निर्वाचन जित्ने दावी गर्नुभयो ।





Loading...