दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आज बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराईका गरी ४५ जिल्लामा आज सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

सुर्खेतको वीरेन्द्रनगरपालिकाको सरस्वती मा.वि. मतदान केन्द्रमा १०४ वर्षका ज्येष्ठ नागरिक पदमलाल थानीले मतदान गरेका छन् । यस्तै, गुल्मीको जिल्लाको बलेटक्सार र नवलपरासी पश्चिमको सरावल गाउँपालिका-२ त्रिमूर्ती आवासीय विद्यालय मतदान केन्द्रमा बिहान केही बेर सामान्य विवाद भइ मतदान स्थगित भएकोमा हाल मतदान पुनः सुरु भएको छ ।

Loading...