भक्तपुरमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुर्इ घाइते

काठमाडौं । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ । झडपमा परी दुईजना घाइते भएका छन् । जसमध्ये एक जना युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेत हुन भने अर्का व्यक्तिको परिचय खुलेको छैन् ।

उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मतदान भइरहेका बेला कांग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरुको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप छ । कांग्रेस नेताले भने आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको बताएका छन् ।

झपडका क्रममा दुई पक्षका कार्यकर्ताबीच कुटाकुट भएको थियो भने तोडफोडसमेत भएको छ । भक्तपुर क्षेत्र नं. २ बाट एमाले उम्मेदवार महेश बस्नेतले कांग्रेसले बुथ कब्जा गर्न खोज्दा एमाले कार्यकर्ताले प्रतिवाद गरेको दाबी गरे ।

कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले भने कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको आरोप लगाएका छन् । झडप पछि यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

Loading...