अर्घाखाँचीको सन्धिखर्क मथुरा केन्द्रमा मतदान स्थगित

अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ५ को मथुरा मावि मतदान केन्द्र ख मा नेपाली कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतदान स्थगित भएको छ । मतदान अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र दिएपछि कांग्रेस कार्यकर्ताहरुले मतपेटिका फाल्ने, मतपत्र च्यात्ने र जलाउने गरेपछि बिहीबार दिउँसो २ बजेपछि मतदान स्थगित गरिएको हो ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरेको मतपत्र दिएपछि कांग्रेस कार्यकर्ताहरुले आक्रोशित भएर मतपत्र च्यातेका थिए । उनीहरुले मतपेटिका फालेर मतदानस्थलमा पन तोडफोड गरेका छन् ।

कांग्रेसको युवा संगठन तरुण दलका नेता कृष्ण भुसालले निर्वाचन अधिकृतले नियतवश हस्ताक्षर नभएको मतपत्र दिएपछि तोडफोड गरेको बताए । कांग्रेसलाई हराउन मतपत्रमा हस्ताक्षर नै नगरी दिएको उनको आरोप छ ।

उक्त मतदान केन्द्रमा करिब २५ वटा मतपत्र मतदान अधिकृतले हस्ताक्षर नै नगरी मतपत्रमा खसालिएका छन् । मतदान अधिकृत अधिकारीले हस्ताक्षर गरेको मतपत्र र नगरेको मतपत्र छुट्टाछुट्टै राखिएकोमा झुक्किएर हस्ताक्षर नगरेको मतपत्र वितरण भएको बताए ।

उक्त मतदान केन्द्रमा स्थगित भएको मतदान सञ्चालन गर्ने विषयमा सर्वपक्षीय बैठक बसेको छ । मतदान पुन सुचारु गराउने वा स्थगित गर्ने भन्नेबारे निर्णय भएको छैन । करिब ८ सय मत खसिसकेपछि कांग्रेस कार्यकर्ताहरुले मतपत्र च्यातेका हुन् ।

Loading...