दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खस्यो

काठमाडौँ । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भइरहेको मतदानमा दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान भइरहेको छ ।

सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर, चितवनलगायतका जिल्लामा ५५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ। पहाडी तथा तराई–मधेशका गरी ४५ जिल्लामा भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता छन् ।

Loading...