काँकडभिट्टा देखि वुटवल सम्मको रेलमार्गको डिपीअार तयार

काठमाडौं । रेल विभागले पूर्वपश्चिम रेलमार्गको पूर्वी भागको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । रेलमार्ग अन्तगर्तको काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सकेको विभागले जानकारी दिएको छ ।

मेचीदेखि महाकाली जोड्ने करिब नौ सय ४५ किलोमिटर रेलमार्गको अन्तर्गतको पूर्वी खण्डको ६ सय १९ किमिको डीपीआर तयार भएको विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।

पूर्वपश्चिम रेलमार्गको सहायक मार्गसहित रेलमार्गको कुल लम्बाइ १३ सय ७६ किमि हुनेछ । झापाको काँकडभिट्टाबाट शुरु हुने रेलमार्गको अन्तिम विन्दु कञ्चनपुरको गड्डाचौकी नाका हुनेछ ।

विभाग यतिवेला बुटवलदेखि पश्चिम खण्डको डीपीआर निर्माणमा जुटेको छ । सो खण्डको डीपीआर पनि १० महिनाभित्र तयार पारिसक्ने लक्ष्य रहेको उपाध्यायले जानकारी दिए ।

लालबन्दीदेखि बर्दिवाससम्मको ३० किमिमा निर्माण शुरु भइसकेको छ । उक्त खण्डमा कल्भर्ट र ग्राभेलिङको काम सकिएको छ । पुलका लागि टेन्डर आह्वान हुन सकेको छैन । सोही कारण आगामी चार वर्षमा पनि उक्त खण्डको निर्माण सकिने लक्षण देखिएको छैन ।

उपाध्यायका अनुसार ठेक्का लागेपछि पनि पुल निर्माण सक्न करिब तीन वर्ष लाग्छ । पुल बनेपछि मात्र रेलको लिक बिछ्याउन शुरु हुन्छ ।

मध्य भाग अर्थात् सिमराबाट पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी जोड्ने भागको डीपीआर विवादित अवस्थामा छ । आरक्ष र निकुञ्ज क्षेत्र भएकाले विभागले त्यसको विकल्पबारे अध्ययन थालेको छ ।

सोही कारण मध्यभागको डीपीआर नै काम नलाग्ने भएको छ ।

Loading...