सुनसरी ३ बाट उपप्रधानमन्त्री गच्छदार विजयी

सुनसरी । सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार उपप्रधानमन्त्री गच्छदार निर्वाचित भएका छन्। उनले एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गरे ।

बुधबार बिहान सकिएको मतगणनामा गच्छदारले ३८९७२ मत पाए भने चौधरीले ३८६५१ मत पाइन् । मतगणनाको सुरुमा गच्छदार निरन्तर पछाडि पर्दै आाएका थिए । उनले अन्तिम समयमा मतान्तर घटाएका थिए।

यो जितसँगै गच्छदारले ६ पटक चुनाव जितेका छन् । बिजयले २०४६ सालपछिका कुनै पनि निर्वाचनमा हारेका छैनन् । उनी योपटक क्षेत्र नं. ३ बाट छैठौंपटक मैदानमा उत्रिएका थिए । २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार दश वर्षपछि फेरि पुरानै पार्टीमा फर्किएर प्रतिनिधीसभाका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

गच्छदारले काँग्रेस छँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए।

गच्छदारले २०६४ सालमा फोरम नेपालबाट २३ हजार ७ सय ६९ मत ल्याएर जितेका थिए । २०७० सालको निर्वाचनमा ६१ हजार ८ सय ६५ मतदाता रहेकोमा गच्छदारले १७ हजार ५ सय २४ मत ल्याएका थिए । त्यतिबेला एमालेकी भगवतीलाई विजयले ३ सय ६२ मतले पछि पार्दै विजयी भएका थिए।

Loading...