ट्राफिक प्रहरीलाई ब्रेथलाइजर मेसिन प्रदान

चितवन । चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई ब्रेथलाइजर मेसिन प्रदान गरेको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै यसको नियन्त्रणको लागि दुई वटा ब्रेथलाईजर मेसिन प्रदान गरेको अस्पतालका प्रमुख सञ्चालन अधिकृत डाक्टर शुप्रभात श्रेष्ठले बताउनुभयो । अस्पतालमा दैनिक पाँच वटा भन्दा बढी दुर्घटनाका घाइतेहरु आउने गरेकोमा अधिकांशले मादक पदार्थ सेवन गरि सवारी साधन चलाएको भेटिएकोले त्यस्ता कार्य रोक्नको लागि मेसिनले सहयोग पुग्ने श्रेष्ठले बताउनुभयो ।

मादक पदार्थ सेवन गरेर सवारी चलाएको नचलाएको थाहा पाउनका लागि मेडिकल रिपोर्ट आवश्यक पर्ने गरेकोमा उक्त मेसिन भएपछि अब मापसे चेकजाँचमा कडाई गर्न सकिने ट्राफिक प्रहरीको भनाइ छ ।

उक्त ब्रेथलाइजर मेसिनमा मुखले हावा दिँदा मादक पदार्थ सेवन गरेको थाहा पाइने भएकाले सवारी चेकजाँचमा सफलता मिल्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाको भनाइ छ । सडकको कारण र सवारी साधनको अवस्थाका कारण भन्दा पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

Loading...