इपीएललार्इ अार्इसीसीको मान्यता

काठमाडौ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबारबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ। आइसिसीले मान्यता दिएपछि सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई अब ढुक्क भएर प्रतियोगिता खेल्ने बातावरण बनेको छ।

आयोजक इपिएल प्रा.लि.ले बिहीबार एक विज्ञप्ती जारी गर्दै आइसिसीले राष्ट्रिय तथा विदेशी खेलाडीहरुलाई प्रतियोगिता खेल्न स्वीकृति दिएको जनाएको छ। साथै विज्ञप्तीमा आइसिसीले इपिएललाई मान्यता दिएको कुरा आफ्ना सवै सदस्य राष्ट्रहरुलाई जानकारी पनि गराएको उल्लेख छ।

इपिएल प्रा.लि.का संस्थापक आमिर अख्तरद्धारा जारी विज्ञप्तीमा आइसिसीको मापदण्ड अनुरुप २० हजार अमेरिकी डलर स्वीकृति रकम तिरेपछि बिहीबार बिहान आइसिसीले स्वीकृति पत्र पठाएको उल्लेख छ।

यसअघि आइसिसीले नेपालको सदस्यता निलम्बनमा रहेको र नेपाली खेलाडीहरुलाई आइसिसीले व्यवस्थापन गरिरहेकाले नेपाल भित्र हुने कुनैपनि प्रतियोगिताका लागि आइसिसीको स्वीकृती अनिवार्य भएको जनाएको थियो।

साथै, आइसिसीले कुनैपनि प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु सहभागि हुँदा अनिवार्य आइसिसीको स्वीकृती आवश्यक हुने भएकाले आइसिसीको स्वीकृति विनाका प्रतियोगिता खेल्न बन्देज लगाएको थियो।

आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपछि नेपाली टोलीको व्यवस्थापन आइसिसीले हेर्दै आएको छ। आइसिसीको स्वीकृति विनाका प्रतियोगिता खेल्दा कुनैपनि खेलाडीलाई आइसिसीले प्रतिबन्ध लगाउन सक्छ।

इपिएल आगामी पुस ३ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुदैछ। प्रतियोगितामा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्दैछन्।

Loading...