सार्वजनिक जग्गामा भूमाफियाको चलखेलः नक्कली श्रेष्ता बनाइ व्यक्तिको नाममा लालपूर्जा

काठमाडौँ । जितपुरसिमरा उपमहानगरपालिका–२३ मा बस्दै आएका सुकुम्बासी दलितको जग्गाका लालपुर्जा अर्कैका नाममा भएपछि उनीहरू बसोबास उठ्ने डरले त्रसित छन् ।

स्थानीय तहको निर्वाचनमा २३ नम्बर वडाबाट स्वतन्त्र उम्मेदवार असलम देवानले जितेसँगै गाविस भवन बनाउन सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा स्थानीय तीन वटा बस्ती बस्दै आएको जग्गाको पुर्जा अर्कै व्यक्तिको नाममा भेटिएपछि सार्वजनिक जग्गा भूमाफियाको चंगुलमा पुगेको खुलेको हो ।

तीन वटा गाउँ रहेको करिब २० बिघा सार्वजनिक जग्गा अरू व्यक्तिकै नाममा पुर्जा बनेको हो । २०५५ पुसमा सुकुम्बासी समाधान आयोगको नक्कली प्रमाण पेस गरी उनीहरूले नक्कली पुर्जा बनाएको खुलेको छ ।

सुरुमा मालपोत कार्यालमा सुकुम्बासी समाधान आयोगको सिफारिस लिएर मातपोतले पुर्जा बनाइदिन नमानेपछि उनीहरू पुनरावेदन हुँदै सर्वोच्चसम्म पुगेका थिए । मालपोत कार्यालयलाई विपक्षी बनाई उनीमध्ये एक प्रद्युम्नराज पाण्डेले सर्वोच्च अदालतमा आफ्नो नाममा स्रेस्ता कायम भएको जग्गाको पुर्जा नपाएको भनी मुद्दा लडेका थिए ।

२८ कात्तिक २०७४ मा न्यायाधीश तेजबहादुर केशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला मालपोतलाई पाण्डेले दाबी गरेको कित्ताको मोठ स्रेस्ताको प्रमाणित प्रतिलिपि र पाण्डेको हगभोगमा जग्गा छ या छैन भनी सात दिनभित्र जानकारी लिन मालपोत कार्यालयको नाममा आदेश दियो । यता, मालपोतले भने पाण्डेले दाबी गरेको जग्गाको स्रेस्ता नभेटिएको र सो जग्गा हालसम्म पनि नेपाल सरकारकै नाममा रहेको लिखित पत्र पठाएको छ । कार्यालयका एक कर्मचारीले प्रद्युन्नराज पाण्डेको नाममा रहेको पुर्जाको कुनै स्रेस्ता नभएको र २०५५ सालतिरै मालपोतका कर्मचारीकै मिलोमतोमा नक्कली पुर्जा बनेको हुन सक्ने बताए ।

करिब २० बिघा जग्गाको नक्कली पुर्जालाई सदर गर्न मालपोत कर्मचारीको मिलोमतोमा पुरानो कित्ताको रेकर्डलाई गुमनाम बनाई नक्कली पुर्जा फाइलको बीचमा छिराएको पाइएको छ ।

पाण्डेले हाल जितपुरसिमरा–२३ (साबिक रामपुरटोकनी–२) को कित्ता नम्बर ३६२ मा बनाएको पुर्जाको स्रेस्ता नभेटिएपछि उनको पुर्जा नक्कली रहेको पुष्टि भएको मालपोत कार्यालयको भनाइ छ ।

हाल अमेरिका बस्ने स्थाई घर काठमाडौँ भएका पंकजराज पाण्डे, पर्साका प्रद्युन्नराज पाण्डे, काठमाडौँकी बन्धना पाण्डे र अर्चना पाण्डेलगायत व्यक्तिले सो २० बिघा जग्गा आफ्नो नाममा बनाएका हुन् ।

सो समयमा मालपोत कार्यालयले आर्थिक प्रलोभनमा परी ऐलानी जग्गालाई भूमाफियासँगको मिलेमतोमा सुकुम्बासी प्रमाणपत्र बनाई तीन वटा बस्तीको जग्गा अन्यत्र बस्नेहरूको नाममा नक्कली पुर्जा बनाइदिएको खुलेको छ ।

सोही नक्कली पुर्जाकै आधारमा उनीहरूले यहाँका केही सडक किनारका जग्गा भाडामा समेत लगाएको खुलेको छ । वीरगन्ज–पथलैया कोरिडोरमै पर्ने भलुही लगायतका जग्गामा उद्योग स्थापनाका लागि समेत दिएको खुलेको छ ।

सोही सार्वजनिक जग्गामा पर्ने चित्रगुप्त पेट्रोल पम्प रहेको स्थानसमेत पम्पका सञ्चालक सुरेन्द्र श्रीवास्तवले जग्गा लिजमा लिएर चलाएको रहस्य खुलेको छ ।

विरोधमा स्थानीय
आफू बसोबास गर्दै आएको जग्गा अरूकै नाममा रहेको पाएपछि स्थानीय आन्दोलित बनेका छन् । उनीहरूले सार्वजनिक जग्गा फिर्ता गरी भूमाफियालाई कारबाही गर्नुपर्ने मागसहित आन्दोलन सुरु गरेका छन् । ४० वर्षदेखि बसोबास गर्दै आएको जग्गालाई भूमाफियाले आफ्नो कब्जामा पारी बस्ती विस्तापित गर्न खोजेको उनीहरूको भनाइ छ ।

आयोगले २०५५ सालमै उनीहरूलाई जग्गाको दर्ता नम्बर कायम गरी दर्ता प्रमाणपत्रसमेत दिएको छ । सोही समय सोही जग्गा व्यक्तिका नाममा गएको समेत मालपोत कार्यालयबाटै पुर्जा बनाएको पाएपछि उनीहरू आन्दोलित बनेका हुन् ।

जितपुरसिमरा–२३ का वडा अध्यक्ष असलम देवानले नक्कली लालपुर्जा बनाई उनीहरूले भित्रभित्रै किनबेचको योजना बनाइरहेकोे दाबी गरेका छन् ।

सुकुम्बासी आयोगबाट नक्कली सिफारिस बनाएर मालपोतका कर्मचारीसँग मिलोमतो गरी नक्कली पुर्जा बनाएको खुलेपछि नगरपालिकाले केही दिनअघि जग्गा किनबेच रोक्का गर्न मालपोतलाई पत्रसमेत पठाएको छ । सो क्षेत्रमा करिब १ हजार ५ सय परिवारको बसोबास छ । राजधानी दैनिकबाट ।

Loading...