भूकम्पको तीन वर्षः अझै बनेनन् विद्यालय, कठ्यांग्रिँदै विद्यार्थी

चिसो बढेसँगै चुचुरेस्थित जट्टेश्वरी माविका विद्यार्थीले राम्ररी पढ्न पाएका छैनन् । उनीहरूको ध्यान पढाइभन्दा कक्षा कतिखेर सकिएला भन्नेतिरै हुन्छ । काठ र बाँसको चित्राले बारेको छाप्रोमा खिम्ती खोलाको स्याँठ सोझै भित्र आइपुग्छ । कति विद्यार्थी त जाडो हुन्छ भन्दै विद्यालय नै आउन छाडिसके ।

थोरै घाम लागेपछि उनीहरू खुला चौरमा निस्कन्छन् । शिक्षक बालबालिकाको घेरामा पस्छन्, अनि त्यहीँ पठनपाठन सुरु हुन्छ । घाम नलागे दिनभर छाप्रोमै काँपिरहनुको विकल्प छैन । भूकम्पले विद्यालय भवन भत्काइदिएपछि दुई वर्षयता यस्तै सकस भोग्न बाध्य छन् उनीहरू । ‘दाताले आस देखायो तर घर बनाइदिएन,’ अभिभावक एवं पूर्वप्रधानाध्यापक श्रीराम कार्कीले भने, ‘अरूलाई बनाउन नदिने, आफू पनि काम नगर्ने भएपछि यो समस्या देखिएको हो ।’ जिल्लाका अन्य विद्यालय भवन धमाधम पुनर्निर्माण भइरहँदा उक्त विद्यालयको भने भग्नावशेषसम्म हटाइएको छैन । जिल्ला शिक्षा र अन्य निकायले बनाइदिएका अस्थायी अध्ययन केन्द्र भत्किइसकेका छन् ।

प्रधानाध्यापक मोहनकुमार खड्का आफ्नो विद्यालय छायामा परेको बताउँछन् । ‘बालबालिका कठ्यांग्रिएको कसैले देखेनन्,’ उनले भने, ‘माननीय र गाउँपालिका उपप्रमुख भएको गाउँको विद्यालयप्रति कसैको चासो नहुनु विडम्बना हो ।’ चिसोकै कारण बालबालिकामा विभिन्न स्वास्थ्यसमस्या देखिएको खड्काले जानकारी दिए ।

भूकम्पबाट क्षति पुगेका विद्यालय भवन पुनर्निर्माणका लागि स्थापित जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख हेमन्तकुमार बुढाथोकीका अनुसार उक्त विद्यालय पुनर्निर्माणको जिम्मा भारतीय दूतावासले लिएको छ । ‘सबैभन्दा पहिला निर्माण गर्नुपर्ने सूचीमा समावेश विद्यालय छनोट गरी भारतीय दूतावासमा पठाएका हौं,’ उनले भने, ‘पछि छनोटमा परेका भवन पुनर्निर्माणको अन्तिम चरणमा छन् तर पहिलो चरणमै बनाउनुपर्ने चाहिँ असरल्ल परे ।’ उनका अनुसार दूतावासले जट्टेश्वरीलगायत कठजोरको नीलकण्ठेश्वर, खाँडादेवीको कृष्ण मावि टिमु, खनियापानीको कृष्णपुरी मावि, लखनपुरको अन्तर्राष्ट्रिय युवा वर्ष मावि, दुरागाउँको त्रिपुरेश्वर मावि, स्यास्कुको जनकल्याण मावि, हिलेदेवीको पशुपति मावि र खाँडादेवीको चोप्राङ गरी १० विद्यालय भवन पुनर्निर्माणको जिम्मा लिएको थियो । तर, अहिलेसम्म सामग्री खरिद प्रक्रिया नै अघि बढाइएको छैन ।

एसियाली विकास बैंकको लगानीमा पुनर्निर्माण भइरहेका ११ विद्यालयको काम भने अन्तिम चरणमा पुगिसकेको छ । सरकारले पुनर्निर्माण कोषमार्फत ६२ विद्यालयको निर्माण पूरा गरेको छ । यस वर्ष त्यत्तिकै संख्यामा पुनर्निर्माण हुँदै छ । भूकम्पले जिल्लाका झन्डै ५ सय विद्यालय भवनमा क्षति पुर्‍याएको थियो । ‘भारतीय दूतावासले जिम्मा लिएका कारण अन्य दातृ या सरकारी निकायलाई बनाइदेऊ भन्न सकिएको छैन,’ बुढाथोकी भन्छन्, ‘सम्बन्धित निकायमा कुरा राखेको राख्यै छौं तर समस्या उस्तै छ ।’ दूतावासले जिम्मा लिएका अधिकांश विद्यालय उच्च पहाडी क्षेत्रमा पर्छन् । कान्तिपुर दैनिकबाट सभार ।

Loading...