नेपाली युवाको कोरियाली सपना पर्दामा

काठमाडौँ । १५औं काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव– २०१७ मा कामका लागि कोरिया जाने नेपाली युवाहरुको सपनालाई समेटिएको चलचित्र प्रदर्शन गरिएको छ । बिहिबारदेखि सुरु भएको चलचित्र महोत्सवमा आइतबार विधुर ढकालद्वारा निर्देशित वृत्तचित्र ‘कोरियन ड्रिम’ प्रर्दशन गरिएको हो ।

गुल्मी जिल्लाको एउटा युवाले कोरिया जान देखेका सपनालाई वृत्त चित्रमा देखाइएको छ । वृत्तचित्रमा ग्रामीण विकासमा स्नातकोत्तर उत्तीर्ण गुल्मीका युवाको कोरिया यात्रालाई प्रस्तुत गरिएको छ । स्थानीय विद्यालयमा सह–प्राचार्यको रुपमा काम गरिरहेका उनले आफ्नो दैनिक गुजारा चलाउन र उज्ज्वल भविष्यका लागि थप कमाई गर्नका लागि कोरिया जाने निचोड निकाल्दै कोरिया गएको देखाइएको छ ।
चलचित्रको निर्माण तथा निर्देशन ढकालले गरेका हुन् । ढकाल राजधानी दैनिकका पत्रकार समेत हुन् । चलचित्रको छांयाकन दिनेश श्रेष्ठ र ऋषि अर्यालले गरेका हुन् भने सम्पादन ईश्वर कोइरालाले गरेका हुन् । वृत्तचित्र निर्माणका लागि उल्जु इन्टरनेशनल फिल्म फेष्टिवल कोरिया र किम्फले सहयोग गरेको हो ।

योसँगै आइतबार नै महोत्वसमा कोरियाली पप संगीतमा संघर्षरत नेपाली युवा समूहको बारेमा तयार पारिएको वृत्तचित्र ‘स्टर्गल इन के पप’ समेत पर्दशन भएको छ । वृत्तचित्र प्रसुन देवी डंगोलको निर्देशनमा बनेको हो ।

त्यस्तै धौलागीरी ‘एसेन्ट टु ह्वाईट माउन्टेन’, भीमसेन लामाको ‘च्यान्टी’, वेलमाया नेपालीले निर्देशन गरेका ‘रोईङ अगेन्सट दी फ्ल्वे’ र ‘एजुकेट आवर डटर’ लगायतका नेपाली वृत्तचित्र तथा छोटा चलचित्र प्रदर्शन भएको हो । भोली सोमबार सम्म चल्ने महोत्सवमा भोली टोनी हेगनको ‘टोनी हेगन्स नेपाल’को विशेष प्रदर्शन हुने छ । त्यस्तै हिमालय रिफिउजी, खोजलगायतका चलचित्र प्रदर्शन हुने छन् ।

नेपाललगायत ३७ देशका ७८ वटा चलचित्र प्रदर्शन हुँदै छन् । नेपालसहित ७६ देशबाट फिल्महरू महोत्सवका लागि प्राप्त भएकोमा तीमध्येबाट उत्कृष्ट चयन गर्दा ३७ देशका ७८ सिनेमा छानिएका हुन् ।

महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेले १ हजार ५ सय अमेरिकी डलर, दोस्रो हुनेले १ हजार अमेरिकी डलर तथा तेस्रो हुनेले ५ सय अमेरिकी डलरसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । नेपाल पानोरमाअन्तर्गत चलचित्रलाई ७५ हजार रुपैयाँ र वृत्तचित्रलाई ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै इसिमोडका तर्फबाट उत्कृष्ट पर्वतीय सिनेमाले हजार अमेरिकी डल प्राप्त गर्नेछ । महोत्सवमा सबैभन्दा बढी दर्शकको मत पाउने सिनेमाले ‘अडियन्स अवार्ड’ प्राप्त गर्ने छन् ।

महोत्सव अन्तर्गत भोली सोमबार भारतीय चलचित्र निर्देशक निर्माता रिना मोहनले वृत्तचित्र सम्पादनबारे प्रवचन दिने कार्यक्रम रहेको छ ।

Loading...