डकैती गर्न हिँडेका लुटेरा हतियारसहित पक्राउ

बारा । जिल्लामा डकैती गर्ने योजनाका साथ हिँडेको एउटा समूहलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। कोल्हवी नगरपालिका क्षेत्रमा मंगलबार साँझ पक्राउ परेका छ जनाको समूहलाई बुधबार जिल्ला प्रहरी कार्यालय कलैयामा पत्रकार सम्मेलन आयोजना गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले भारतको सीतामडीका दुई जना र नेपालको सर्लाहीका तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत सीतामडीका ३१ वर्षका पप्पु सहनी, सोही ठाउँका २८ वर्षका दिनेश दास, ३० वर्षका सञ्जय साह, सर्लाही किसनपुर गाउँपालिका– २ का ५० वर्षिय रामसेवक महरा, इश्वरपुर नगरपालिका ९ बस्ने ४२ वर्षका जगत महरा र मलंगवा नगरपालिका– २ का २९ वर्षका दिनेशकुमार साह सोनार रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले तीन थान कटुवा पेस्तोल, त्यसमा लाग्ने सात राउण्ड गोली र एउटा धारिलो छुरा बरामद गरेको बताएको छ। पक्राउ परेका अभियुक्त सार्वजनिक गर्दै बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले केही दिन पहिले नै बाराको कोल्हवी नगरपालिका क्षेत्रमा डकैतीको योजना बनाएर मंगलबार बाराको तामागढीबाट टेम्पो चढेर उनीहरू कोल्हवीतर्फ जाँदै गर्दा कोल्हवी नगरपालिका– २ भलुवाहीखोरबाट पक्राउ गरिएको जानकारी दिए ।

Loading...