टिकापुर घटनामा नयाँ मोडः रेशम चौधरी मुख्य योजनाकार नभर्इ पीडित भएको जाँचबुझ अायोगको प्रतिवेदन

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरी नभएको ठहर गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा चौधरीलाई टीकापुर घटनाको पीडितका रुपमा उल्लेख गरिएको हो ।

प्रहरीले चौधरीलाई टीकापुरमा ७ प्रहरी र एक बालक हत्या घटनाको प्रमुख योजनाकारका रुपमा मुद्दा दायर गरिसकेको छ । हालसम्म फरार रहेका चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट फराकिलो मतान्तरसहित हालै प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन् ।

वारेसनामा मार्फत उम्मेदवारी दिएका उनले विजयी भए पनि विजयीको प्रमाणपत्र पाउन सकेका छैनन् । त्यसपछि उनले वारेसनामा मार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा वारेसनामा मार्फत पुगेका थिए । सर्वोच्चले चौधरीविरूद्धका मुद्दाको फार्इल झिकाउन अादेश दिएको छ ।

यस्तोमा घटनाले नयाँ मोड लिएको छ । घटनापछि गठन भएको जाँचबुझ अायोगले चौधरी घटनाको मुख्या अारोपी नभएको र उनले घटना हुन सक्ने भन्दै प्रहरीलार्इ पहिले नै जानकारी गराएर प्रहरीका लागि सहयोगी भूमिका खेलेको प्रतिवेदन सरकारलार्इ बुझाएको हो ।

स्थानीय र सरोकारवालासँगको कुराकानीका आधारमा जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनमा चौधरी घटनाको पीडित भएको निष्कर्ष निकालेको हो। प्रहरीमाथि आक्रमणको घटना पूर्वयोजना अनुरुप नै भएको तर रेशम चौधरीले नभई अरु कसैले बनाएको प्रतिवेदनमा उल्लेख छ।

‘उनले त अघिल्लो दिन नै आन्दोलनमा हिंसात्मक गतिविधि हुन सक्ने भनेर सुरक्षा निकायलाई जानकारी दिएर सहयोग गरेको देखियो,’ आयोगका एक अधिकारीले भने, ‘त्यो दिनको आन्दोलनमा पनि उनी संलग्न भएको देखिएन।’ प्रहरी अनुसन्धानले भने चौधरीलाई नै मुख्य दोषि ठहर्याएको छ।

संविधानको प्रावधानप्रति असन्तुष्टि जनाउँदै २०७२ भदौ ७ मा टीकापुरमा घरेलु हतियारसहित थारु समुदायका व्यक्तिले सरकारविरुद्ध प्रदर्शन गरेका थिए। छुट्टै थरुहट प्रदेश उनीहरुको माग थियो। सोही मागसहित टीकापुरमा उत्रिएका आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भयो। झडपमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक बालक मारिए। ठूलो संख्यामा आएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रण गर्न सकेन। आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरी प्रहरीको निर्मम हत्या गरेका थिए।

टीकापुरमा रेशम चौधरीको लोकप्रियता बढेकाले अन्य पार्टीका नेताले नै ‘रेशमको योजनामा आन्दोलन भएको’ भनेर प्रहरीलाई ब्रिफिङ गरेर फसाउन खोजेको केही स्थानीयबासीले आयोग समक्ष बयान दिएका छन्।

तर, आन्दोलनमा रेशमको पनि समर्थन रहेको र आफ्ना कार्यकर्तालाई आन्दोलनमा पठाएको प्रतिवेदनमा उल्लेख छ। ‘उनी पूर्ण रुपमा निर्दाेष छैनन्, तर मुख्य योजनाकार नै हो भन्ने चाहिँ हाम्रो छानबिनमा देखिएन,’ आयोगका एक अधिकारीले नेपाल लाइभसँग भने। घटनापछि उनको एफएम, घर तथा कार्यालयमा तोडफोड भएकाले उनलाई टीकापुर घटनाको पीडित मानिएको प्रतिवेदनमा उल्लेख छ।

चौधरीलाई सरकारले यसअघि नै क्षतिपूर्ति बापत १ करोड ७४ लाख रुपैयाँ क्षतिपूर्ति दिइसकेको छ। टीकापुर घटनापछि उनलाई मुख्य योजनाकार भनी अभियोग लगाएपछि रेशम चौधरी भारतमा बस्दै आएका छन्।

आयोगको प्रतिवेदनले प्रहरीले दायर गरेको कर्तव्य ज्यान मुद्दाको विषयमा केही बोलेको छैन। अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले त्यस विषयमा आयोगले केही उल्लेख नगरेको हो।

स्थानीयहरुसँगको कुराकानीमा भने प्रहरीले गहन अनुसन्धान नगरी हुलमूलका आधारमा पक्राउ गरिएको गुनासो गरेका छन्। केही निर्दाेष व्यक्ति फसेको र घटनाका दोषीहरु भने अनुसन्धान बाहिर रहेको स्थानीयको गुनासो छ। घटनामा पक्राउ परेका २५ जना अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्। मुद्दा दायर गरिएका रेशम चौधरी लगायत फरार छन्।

सुरक्षा अधिकारीलाई कारबाहीको सिफारिस
जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सिडिओलाई समेत कारबाहीको सिफारिस गरेको छ। कसैको नाम नतोकी आयोगले घटनाको पछाडि स्थानीय प्रशासनको कमजोरी औल्याउँदै कारबाहीको सिफारिस गरेको हो।

टीकापुर घटनाबारे पूर्वसूचना नहुनु, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय नहुनु र घटनापछिको उचित विश्लेषण प्रशासनले गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ। उचित विश्लेषण गरेर सुरक्षा रणनीति बनाएको भएमा प्रहरी मारिएपछिको अवस्थामा स्थानीयको सम्पत्तीमा तोडफोड र आगजनीको घटना हुन नपाउने प्रतिवेदनमा उल्लेख छ। टीकापुर घटनापछि प्रहरीले धेरै बल प्रयोग गरेको समेत प्रतिवेदनमा उल्लेख छ।

Loading...